नालापानीलाई कर छुट दिन पहल

काठमाडौं । चलचित्र विकास बोर्डले आगामी ४ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली फिल्म ‘नालापानी’लाई कर छुट दिन पहल सुरु गरेको छ । बोर्डबाट ‘विशेष चलचित्र सम्मान’ पाएको फिल्मलाई कर छुट दिन पहल सुरु गरिएको बोर्ड अध्यक्ष भुवन केसीले बताए ।

उनले सञ्चार सचिव डा. बैकुण्ठ अर्यालसँगको भेटमा फिल्मलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको जानकारी दिए । ‘सचिवले तुरुन्तै अर्थ मन्त्रालयमा पत्राचार गर्नुभएको छ । नेपालको गौरवगाथा बोकेको यो फिल्म नेपालको ऐतिहासिक विषयमा बनेको र चलचित्र विकास बोर्डले विशेष चलचित्र घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेकाले पनि कर छुटका लागि योग्य छ भनेर मैले पहल सुरु गरेको हुँ’, केसीले भने, ‘यति मात्रै नभएर हलमा देखाइने विज्ञापनलगायतमा पनि मैले सहजीकरणका लागि पहल गरिरहेको छु ।’

केसीले राष्ट्रिय गौरव बोकेका फिल्मलाई प्रवद्र्धन गर्नुपर्ने आफ्नो मान्यता रहेको दाबी गरे । उनले बोर्डले ‘नालापानी’लाई दिन सक्ने सबै सुविधा दिने उल्लेख गरे ।

फिल्मका निर्माता तथा निर्देशक रिमेश अधिकारीले ढिलै भए पनि राज्यले सुविधा दिन खोजेकामा खुसी व्यक्त गरे । ‘सञ्चार मन्त्रालयका सचिव, उपसचिव, सहसचिव र बोर्डका अध्यक्षसहितको बैठकमा फिल्मलाई सुविधा प्रदान गर्ने विषयमा छलफल भयो । सचिवले विज्ञापनका लागि विभिन्न निकायमा पहल गर्ने प्रतिबद्धतासँगै स्थानीयसहितका विभिन्न कर छुटका लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्न पत्राचार गर्नुभएको छ’, अधिकारीले भने ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण गरिको हो । फिल्ममा वीर योद्धा कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा देखाइएको छ ।