काठमाडौं । नेपाली टेलिभिजनको ३ दशक लामो इतिहासमा पहिलो पटक टेलिभिजनमार्फत नेपाली फिल्मको वर्ल्ड प्रिमियर हुने भएको छ । नेपाल नेटवर्क टेलिभिजनले आफ्नो प्रसारणको सुरुआतसँगै नयाँ नेपाली फिल्मको टेलिभिजन प्रिमियर गर्न लागेको हो । ओएसआर डिजिटल र डिएआर मुभिजको सहकार्यमा नेपाली फिल्म टेलिभिजनमा प्रसारण हुनेछ ।
डीएआर मुभिजका निर्देशक श्याम धितालले हरेक हप्ता एक पुरानो फिल्म र महिनामा १ नयाँ फिल्म हलमा प्रदर्शन भएर अन्य कुनै डिजिटल प्लेटफर्ममा रिलिज नभएको फिल्म प्रसारण गर्न लागिएको बताए ।
‘नेपाली टेलिभिजन हेर्ने दर्शकले नयाँ नेपाली फिल्म घरमा नै बसेर निःशुल्क हेर्न पाउने यो राम्रो अवसर हो । हामी आगामी तिहारबाट नियमित रूपमा फिल्म प्रदर्शन गर्नेछौं’, धितालले भने । नेपाल नेटवर्क टेलिभिजनले फिल्म ‘लप्पन छप्पन– २’ बाट प्रदर्शनको सुरुआत गर्दै छ । फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, शिव श्रेष्ठ, अर्पण थापाको अभिनय रहनेछ ।