बिर्तामोडका दर्शकमाझ रमायो महापुरुष

काठमाडौं । आगामी ११ कात्तिकबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महापुरुष’ यतिबेला प्रचारप्रसारका लागि मोफसल यात्रामा छ । यही क्रममा उसले कलाकारको उपस्थितिमा पूर्वको झापास्थित बिर्तामोडबाट यात्राको शुभारम्भ गरेको छ ।

वान स्टप मलमा आयोजित कार्यक्रममा फिल्मका कलाकार हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्रसिंह बानियाँलगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरे । गायिका रचना रिमालले गीत गाउँदा दर्शक रमाएका थिए ।

फिल्मको गीतमा अरुण र अञ्जनाले कम्मर मर्काउँदा हरिवंशले गीत सुनाए । उनीहरूले फिल्म हेरिदिन आग्रहसमेत गरेका थिए । फिल्म युनिटले बिर्तामोडकै डिम्याक्स हलमा पुगेर दर्शकसँग अन्तरक्रियासमेत गरेको थियो । फिल्ममा प्रदीप भट्टराईको निर्देशन छ ।

फिल्म युनिटले हेटौँडा, नारायणगढ, बुटवल र पोखरामा पनि प्रचारप्रसारको कार्यक्रम गर्दै छ ।