मिलन ट्रेलरमा प्रेम र विछोड

काठमाडौं । फिल्म ‘मिलन’को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदै गरेको तिहार सकिए लगतै कात्तिक १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको ‘मिलन’को सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच प्रेम र बिछोडले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको यो फिल्मको सार्वजनिक तीन मिनेट लामो ट्रेलर अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको अभिनेत्री शिल्पा थापासँगको प्रेम र बिछोडमा केन्द्रित छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिएको ‘मिलन’मा सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र बिशोल पहाडीको मुख्य भूमिका रहेको छ । यसै फिल्मबाट अभिनेता कुशल र अभिनेत्री शिल्पाले डेब्यु गर्दैछन् ।

कार्यक्रममा अभिनेता सलोनले आफूले काम गरेका राम्रा र आफूलाई निकै मन परेको फिल्महरु मध्ये ‘मिलन’ पनि पर्ने बताए । उनले नेपालमा कोभिड १९ को महामारी कम हुँन थालेपछि डरका बिच नै काम थालनी गरेको भन्दै अनुभव साटे । साथै अन्य फिल्म जसरी नै यस फिल्मलाई पनि सबैले माया गरिदिन आग्रह गरे ।

नव अभिनेता कुशल शाह ठकुरीले आफूलाई विश्वास गरेर फिल्ममा काम गर्ने अवसर प्रदान गरेकोमा निर्माता प्रविन थापालाई धन्यवाद दिए । उनले आफूले ठुलो पर्दाका लागी पहिलो अनुभव भएको र धेरै कुरा सिक्ने मौका पाएको बताए । साथै नवअभिनेत्री शिल्पा थापाले पनि फिल्म ‘मिलन’बाट धेरै कुरा सिक्ने मौका पाएको बताइन् । अर्का मुख्य कलाकार शिशिर बाङ्ग्देलले फिल्मको अनुभव साटे । फिल्ममा धेरै नयाँ कलाकार भएपनि फिल्म निकै राम्रो बनेको उनले बताए ।

फिल्मका निर्देशक टेक पौरखी राईले निर्देशन गरेको यो तेस्रो फिल्म हो । यसअघि उनले ‘मट्टी माला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन् । निर्देशक राईले यसअघिका फिल्म जस्तै ‘मिलन’लाई पनि सबैले माया गरिदिने विश्वास ब्यक्त गरे । साथै केहि समय अघि केहि बिशेष ब्यक्तिहरुलाई फिल्म देखाएको र राम्रो प्रतिक्रिया आएको भन्दै उत्साह बढेको बताए । फिल्मका निर्माता प्रविन थापाले बिशेष गरी युवापुस्ताका लागी मन पर्ने फिल्म निर्माण गरेको जानकारी दिए । उनले फिल्म निर्माणमा आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् ।

फिल्मको निर्माण टिमले यसअघि पोष्टर र गीत सार्वजनिक गरिसकेको छ । फिल्ममा जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो फिल्म राहुल राईको छायांकन रहेको छ भने तारा किम्बे थापाको सम्पादन रहेको छ । फिल्ममा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।