निश्चलका पितालाई महापुरुष हेर्ने चाहना

काठमाडौं । अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आफ्नो पिताले फिल्म ‘महापुरुष’ हेर्ने चाहना राखेको बताएका छन् । फिल्मले आइतबार साँझ राजधानीमा आयोजना गरेको प्रिमियरमा उपस्थित निश्चलले फिल्म हेरिसकेपछि पत्रकारसँग पिताले फिल्म हेर्न चाहेको खुलाएका हुन् ।

‘बुवालाई मेरो फिल्म हेरौं न भन्दा हेरौला नि भन्नुहुन्छ । तर महापुरूष ट्रेलर हेरेर नै हेर्छु भन्नुभएको छ । यसले पनि फिल्म प्रतिको आकर्षणलाई बुझाउँछ’, उनले भने । उनले फिल्म हेरेपछि हरिवंश आचार्यको धेरै पछि फरक भूमिका हेर्न पाएको बताए ।

अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको सम्पूर्ण पक्ष मन परेको बताइन । ‘फिल्ममा यो, त्यो भन्दा नि पुरै फिल्म नै राम्रो बनेको छ । सबैको कास्टिङ पर्फेक्ट छ । फिल्म हेर्दा मात्र नभई बाहिर निस्किदासम्म पनि फिल्म हामीसँगै रहन्छ’, अभिनेत्री खड्काले भनिन् । उनले नयाँ अनुहारहरू अरुण क्षेत्री र अन्जना बराईलीले निकै राम्रो काम गरेको भन्दै प्रसंसा गरिन् ।

‘अरुणसँग त मैले काम समेत गरेको छु । उनको बारेमा निकै बलियो कलाकार हो भनेर प्रशंसा गर्दै आएकी थिएँ । फिल्ममा उनले आफूलाई प्रमाणित गरेका छन् । अन्जना पनि बलियो सम्भावना बोकेकी कलाकार हुन’, उनले भनिन् ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।

एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।