कुन हो मेरो देशमा भुटानी पीडा

काठमाडौं । भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ। यो वृत्तचित्र भूतपूर्व क्याप्टेन बुद्धवीर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ।

क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरे पनि अन्त्यमा कसरी तत्कालिन भुटान सरकारले उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्योद्घाटन वृत्तचित्रमा सुब्बा र उनका परिवारले गरेका छन् ।

फ्याम्ली प्रोडक्शनको निर्माणमा तयार पारिएको यस वृत्तचित्रमा बीएम खालिङको खोज र लेखन छ । वृत्तचित्रमा गायक एवम् संचारकर्मी रविन शर्माको न्यारेशन रहेको छ ।

कमल राईको छायाङ्कन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको परिकल्पनामा तयार पारिएको हो। असल टिभी नामक युट्युव च्यानल मार्फत वृत्तचित्र सार्वजनिक गरिएको हो। वृत्तचित्र अंग्रेजी र नेपाली भर्सनमा सार्वजनिक गरिएको छ।