सिक्किमे कवि जीवनलाई मिलाप सम्मान

काठमाडौं । सिक्किमका गीतकार, संगीतकार तथा कवि जीवन शर्मा काठमाडौंमा सम्मानित भएका छन् । उनलाई शुक्रबार एक विशेष सामारोहबीच मिलाप विशिष्ट सम्मानले बिभूषित गरिएको हो ।

मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न भएको समारोहमा प्रमुख अतिथि विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा। डीआर उपाध्याय, गीतकार संघका निर्वतमान अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, बिशिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखनाथ पोख्रेल, बरिष्ठ कलाकार उत्तम केसीलगायतले स्रष्टा शर्मालाई खादा, दोसल्ला, माला र सम्मान पत्रले बिभूषित गरेका थिए ।

निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेलले सहजीकरण गरेको कार्यक्रममा स्रष्टा शर्माले आफू नेपाली भाषा साहित्य कला संस्कृतिको एक साधक रहेको बताउँदै नेपालमा आफूले पाएको यो सम्मानका लागि विशेष आभारी रहेको बताए । उनले साहित्य कुनै सीमा भित्र नबाधिने र यसको क्षेत्र व्यापक र विस्तार भएको बताए ।

डा. उपाध्यायले नेपाल बाहिर पनि नेपाली भाषीले भाषा साहित्य कला संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने जुन कार्य गरिरहेका छन् त्यो स्तुत्य रहेको बताए । यस्तै, साहित्यकार लेकालीले नेपाल बाहिर सिक्किममा साहित्यको उर्बर भूमि रहेको बताउँदै पछिल्लो समय सिक्किमले नयाँ नयाँ प्रतिभा जन्माएको जिकिर गरे । गीतकार देवकोटाले गीत संगीतमा शर्माको योगदानको प्रशंसा गर्दै आउँदा दिनमा उनका अझ धेरै सिर्जनाले नेपाली गीत संगीतको क्षेत्र सिंचित हुनेमा आफू आशावादी रहेको बताए ।

सम्पादक भुसालले सिक्किममा रहेर विगत तीन दशकदेखि निरन्तर गीत संगीतको क्षेत्रमा लागेका स्रष्टा शर्मालाई नेपालमा सम्मान गर्न पाउँदा आफूहरू पुलकित भएको बताए ।