पोखरामा नेपाल लिटरेचर फेस्टिभल

काठमाडौं । आगामी ६ पुसदेखि पोखरामा १०औँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ हुने भएको छ । बुकवर्म फाउन्डेसनलले पोखरामा पत्रकार सम्मेलन गर्दै ११ पुससम्म बाराहीघाट, लेकसाइडमा फेस्टिभल आयोजना हुने जानकारी दिएको हो ।

यस वर्ष फेस्टिभलको सह–आयोजक गण्डकी प्रज्ञा–प्रतिष्ठान रहेको छ । फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका र सहयोगीका रूपमा पोखरा प्रज्ञा–प्रतिष्ठान रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार अघिल्ला संस्करणझैँ यस वर्ष पनि देशविदेशका करिब २०० साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादकको फेस्टिभलमा उपस्थिति हुनेछ । फेस्टिभलमा ५० भन्दा बढी सेसन, साङ्गीतिक साँझ हुनेछन् ।

‘शब्दशक्ति उत्सवको एक दशक’ नारा रहेको फेस्टिभलमा सन् २०२२ का ‘बुकर पुरस्कार’ विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह–प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवं फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय व्यक्तिको सहभागिता रहनेछ ।

नेपालबाट भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सीके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवं लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, बुद्धिसागर, सुविन भट्टराई, सङ्गीतकर्मी रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बूलगायतको उपस्थिति हुनेछ । फेस्टिभलमा फरक क्षमता भई अब्बल रहेका व्यक्ति, दार्चुला, गोरखा, मनाङका स्थानीय जनप्रतिनिधिको पनि उपस्थिति रहनेछ ।

फेस्टिभलको पूर्वसन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरले प्रस्तुति दिँदा पहिलो दिन गोपाल योञ्जनको सम्झनामा गोपालय साङ्गीतिक प्रस्तुति हुनेछ । गोपालय गीतकार, गायक तथा सङ्गीतकार गोपाल योञ्जनको स्वगारोहणको २५ वर्षमा उनीप्रति फेस्टिभलको सम्मान हो । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधुनिक सङ्गीतमा १०० वर्ष, अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति र रैथानको प्रस्तुति रहनेछ । फेस्टिभलको अन्तिम दिन भने प्रदीप रोदनको महफिल रहने छ ।

शिक्षाका ३ सत्र रहने फेस्टिभलमा ४ दिन बिहान ९ बजेदेखि १०ः ३० बजेसम्म कक्षा ९ देखि १२ सम्मका बालबालिकाका लागि वक्तृत्वकला प्रतियोगिता हुनेछ । उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिनेछन् ।

फेस्टिभलका निर्देशक नीरज भारीले सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको फेस्टिभल दसौँ संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाटमा आयोजना हुने अवस्थामा आइपुगेको बताए । ‘यस्ता फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्च पदस्थ व्यक्ति एवं सरोकारवालालाई जबाफदेही बनाउन र सचेत समाज निर्माणमा भूमिका खेल्छ’, भारीले भने, ‘समाजलाई मार्गदर्शन गर्न र लोकतन्त्रलाई शक्तिशाली बनाउन फेस्टिभलले सहयोग पु¥याउने हाम्रो विश्वास छ । कोभिडका कारण यसअघिको संस्करण आयोजना गर्न नपाए पनि यस वर्षको फेस्टिभल आयोजना गर्न पाउँदा हामी हर्षित छौँ । फेस्टिभल दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएको छ ।’

फेस्टिभलकी सह–निर्देशक सुजाता खत्रीले दसौँ संस्करणको फेस्टिभल आफूहरूका लागि थप विशेष भएको बताइन् । ‘हामीले गत वर्ष फेस्टिभल आयोजना गर्न पाएनौँ । तर यस वर्षको फेस्टिभललाई हामीले विशेष बनाउन खोजेका छौँ,’ उनले भनिन् ।

आयोजक संस्थाकै भरत कोइरालाले पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको बताए । ‘फेस्टिभललाई पोखराबासीले उत्साहपूर्वक प्रतीक्षा गरिरहेका छन्’, कोइरालाले भने । केशवशरण लामिछानेले फेस्टिभलले पोखरालाई सभ्य एवं सुसंस्कृतसँगै तालको शहर, हिमालमुनिको शहरलगायत विशेषताले चिनाइरहँदा साहित्यको पनि शहर अब्बल रहेको बताए ।