तीन रियालिटी शोको घोषणा

काठमाडौं । स्पेस फोर के टेलिभिजनले एकसाथ ३ रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले गत शुक्रबार राजधानीमा कार्यक्रम गर्दै बालबालिकाको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाका लागि गायनमा ‘र्‍याप स्टार’ र डेटिङ गेम शो ‘फस्र्ट डेट’को घोषणा गरेको हो । कार्यक्रममा ३ वटा रियालिटी शोका टिजर, त्यसको अवधारणा, निर्णायक, निर्देशक र टिमसमेत सार्वजनिक गरियो । र्‍याप स्टारको निर्णायकमा र्‍यापर गिरिश खतिवडा, सन्दीप विस्ट ‘मिस्टर डी’ र अभिजित भण्डारी ‘एजे’ छन् ।

त्यस्तै ‘जस्ट डान्स लिटिल मास्टर्स’मा अभिनेत्री सञ्चिता लुइँटेल, कोरियोग्राफर प्रदीप लामा, हिपहप डान्सर प्रकाश बीके निर्णायक छन् । यस्तै ‘फस्र्ट डेट’का क्रियटर तथा प्रोजेक्ट हेड अभिनेता तथा प्रस्तोता रेमनदास श्रेष्ठ, क्रियटिभ हेड सञ्जीवरत्न शाक्य र निर्देशक आश्विन न्यौपाने छन् ।

कार्यक्रममा टेलिभिजनका अध्यक्ष डा. दिनेशकुमार शाहीले नेपाली समाजमा लुकेर बसेका प्रतिभाका क्षमतालाई अन्वेषण गर्ने र त्यसलाई स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शो ल्याइएको दाबी गरे । ‘जस्ट डान्स लिटिल मास्टर्स’की निर्णायक तथा अभिनेत्री लुइँटेलले बच्चाको बालमनोविज्ञानमा आधारित भएर बालबालिकामा रहेको क्षमतालाई प्रष्फुटन गर्न शोले योगदान दिने बताइन् ।
‘र्‍याप स्टार’का निर्णायक तथा र्‍यापर खतिवडाले नेपाली समाजमा र्‍यापलाई हेर्ने दृष्टिकोण फरक भए पनि र्‍याप विधाले समाजको चित्रण गर्ने बताए । ‘फस्र्ट डेट’का प्रोजेक्ट हेड श्रेष्ठले पे्रमिल जोडीमा आधारित रहेर निर्माण गरिएको डेटिङ रियालिटी शोलाई सपरिवार हेर्न मिल्ने गरी सभ्य तरिकाले निर्माण गरिने बताए ।

टेलिभिजनले ‘फस्र्ट डेट’ आगामी १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेलाई लक्षित गरी दर्शकमाझ ल्याउँदै छ । डान्स रियालिटी शो ‘जस्ट डान्स लिटिल मास्टर्स’ आगामी वैशाखमा र सिंगिङ रियालिटी शो ‘¥याप स्टार’ पुसदेखि प्रसारण हुनेछ ।