मलाया युद्ध सम्झाउने गोर्खा वारियर टिजर

काठमाडौं । फिल्म ‘गोर्खा वारियर’को टिजर बिहिबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ । टिजरलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ । मिलन चाम्स निर्देशित फिल्मको टिजरले सन् १९४९ को मलाया इमरजेन्सी जंगल वारको झल्को दिएको छ । कार्यक्रम सशस्त्र प्रहरी बल नेपालका पूर्व आईजिपी शैलेन्द्र खनाल ‘सरद’ले आफु पनि सेवामा रहँदा युद्धलाई निकै नजिकबाट देख्न र भोग्न पाएको तर यत्ति राम्रो युद्धको दृष्य नेपाली फिल्ममा पहिलो पटक देखेको बताए ।

निर्देशक मिलन चाम्सले विश्वमा परिचित गोर्खा सैनिकले पहिलो बिश्वयुद्ध देखि अहिलेसम्म धेरैवटा युद्ध लडेको स्मरण गराए । उनीहरुसँग कैयौं युद्धसँगै पारिवारिक मार्मिक कथा भएको र त्यो मध्य एउटा बास्तविक कथालाई यसपटक पर्दामा उतारेको चाम्सले कार्यक्रममा बताए । पहिलो पटक आफुले यो फिल्मलाई नेपाली, हिन्दी र अँग्रेजीसहित तीन भाषामा अन्तराष्ट्रिय रुपमा तयार गरेको पनि उनले जानकारी गराए ।

आगामी जुनमा यो फिल्मलाई बेलायतमा १० हजार दर्शकमाझ विशेष प्रदर्शन गर्ने पनि उनले जानकारी गराए । फिल्मबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको मुख्य भूमिको छ ।

यो फिल्मको नेपाल र मलेशियामा छायाँकन भएको हो । गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिल्मको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे र सहनिर्मातामा रुपमा सुरेश राई छन् ।