वीरगञ्जमा देखाइयो दिलमाया २

काठमाडौं । निर्देशक राजु गिरीको निर्देशनमा निर्माण भएको फिल्म ‘दिलमाया २’को सोमबार वीरगञ्जमा बिशेष शोको आयोजना गरिएको छ । आगामी चैत्र १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको विशेष शोमा नेकपा एमालेमा प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

फिल्मको निर्माण टिम आइतबार विशेष शोको लागि कलाकारसहित वीरगञ्ज पुगेको थियो । मधेश प्रदेशको वीरगञ्जस्थित त्रिमुर्ती हलमा फिल्मको पहिलो विशेष शोको आयोजना गरिएको हो । निर्देशक गिरीले देशका विभिन्न शहरमा फिल्म प्रदर्शन पूर्व विशेष शोको आयोजना गर्ने तयारी भैरहेको बताए ।

राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा किरण नेपाली, सेन्जल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्ममा राजु गिरीकै लेखन छ ।

बिष्णु मिराकर र सुस्मिता खत्रीको छायांकन रहेको फिल्ममा खुमबहादुर सुनार र संगीता खत्रीको सम्पादन रहेको छ । फिल्ममा शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीको लगानी छ । फिल्ममा भीष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व छ ।