काठमाडौं । पुष २९ बाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘तिम्रो मेरो साथ’को टिमले मोफसल टूर सम्पन्न गरेको छ । पर्यटकीय नगरी पोखराबाट सुरु भएको नेपाल टूर दमकमा गएर समाप्त भयो ।
पोखरामा प्रेस भेटघाट र सिनेमा प्रचार गरेपछि टिम चितवन झरेको थियो । चितवनका बिभिन्न क्याम्पस, हल र मलमा दर्शकसंग साक्षात्कार गरेको टिमले त्यहाँ सिनेमाको शिर्ष गीतपनि सार्वजनिक गर्यो । चितवन भ्रमणपछि कलाकार पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दीप क्षेत्री र निर्देशक रमेश एमके पौडेलसहितको टिम हेटौंडा हानिएको थियो । हेटौंडामा पत्रकार सम्हेलन गरेर टिमले सिनेमाबारे जानकारी दियो । हेटौंडाका संचारकर्मीसंगको सक्षात्कारपछि टिम सर्लाहीको लालबन्दी पुगेको थियो ।
लालबन्दीमा कन्सर्ट गरेको टिमले दर्शकको उल्लेख्य साथ पायो । साम्राज्ञी, पुष्प र सन्दीपले दर्शक झुमाए । दर्शक संख्या बढी हुँदा प्रहरीलाई भिड व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । लालबन्दीमा साम्राज्ञी, पुष्प र सन्दीपको बबाल क्रेज देखियो । दर्शकहरु कलाकारसंग फोटो खिच्न उत्साहित देखिन्थ्ये ।
लालबन्दीको सफल भ्रमणपछि ‘तिम्रो मेरो साथ’ टिम इटहरी र दमक हानिएको थियो । इटहरीमा सिनेमाको टिमले शहर परिक्रमा गरेको थियो । अटो रिक्सामा सिनेमाको पोस्टर टाँसेर शहरको चक्कर लगाउदा दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको थियो । इटहरीमा पत्रकार भेटघाट गरेपछि टिम दमकतर्फ लागेको थियो । दमकमा प्रेसमिट गरेपछि शनिबार निर्माण पक्ष राजधानी फिरेको छ ।
अब निर्माण पक्षले काठमाडौँ उपत्यकामा प्रचारका कार्य गर्नेछ । मोफसल टूरपछि काठमाडौं आइपुगेका निर्देशक पौडेलले मोफसलमा दर्शक र मिडियाको न्यानो साथ पाएको सबै जना सिनेमालाई लिएर उत्साहित रहेको भन्दै खुसि व्यक्त गरे । ‘मोफसलको सफल भ्रमण सकाएर काठमाडौं आइपुगेका छौं । उपत्यका बाहिरका दर्शकसंग आत्मियता साट्न पायौं । उहाँहरु सिनेमालाई लिएर निक्कै उत्साहित हुनुहुन्छ । मिडियाकर्मीबाट पनि राम्रो साथ पायौं । आशा छ दर्शकले हलमा पनि साथ दिनु हुन्छ होला ।’ पौडेलले एउटा राम्रो लभस्टोरी सिनेमा बनाएको भन्दै पुष २९ देखि हल पुगेर हेरिदिन आग्रह गरे ।
सिनेमामा पुष्प, साम्राज्ञी र सन्दीपसंगै सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषालरयोगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । सिनेमाको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।