भुटानी शरणार्थीको कथामा सम्हालिएको जाती

इटहरी । निर्माणको अन्तिम चरणमा पुगेको फिल्म ‘सम्हालिएको जाती’ को इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । भुटानी शरणार्थीहरुको कथामा तयार हुँदै गरेको फिल्मको अमेरिकामा ७० प्रतिशत छायांकन सम्पन्न भैसकेको छ भने अब बाकी ३० प्रतिशत छायांकन नेपालमा हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा फिल्मका तर्फबाट निर्माता दिपक परियार, अभिनेता विक्रम विश्व र निर्देशक सन्तोष रामदामले फिल्मका बारेमा बोलेका थिए । कार्यक्रममा लामो समयदेखी इटहरीबाट निर्माता, लेखक तथा निर्देशकको रुपमा अनुभव बटुल्दै फिल्म उधोगमा यहि ठाउँबाट योगदान पुर्याएको भन्दै फिल्म युनिटले कोशी भिजन फिल्मसका प्रबन्ध निर्देशक समेत रहेका लाखमान योन्जत तामाङलाई सम्मान समेत गरेको छ । तामाङसँग ३४ वर्षपपछिको भेट भएको भन्दै फिल्मका निर्देशक रामदामले खुशी ब्यक्त गरे ।

फिल्मको नेपालमा हुने छायांकनको जिम्मेवारी पनि कोशी भिजनले नै पाएको छ । झापाको शरणार्थी शिविर तथा बिराटनगर एयरपोर्ट लगायत कोशी प्रदेशका विभिन्न ठाउँमा यो फिल्मको छायांकन हुनेछ । फिल्ममा कलाकार बुद्धि तामाङको पनि विशेष भुमिका रहने जनाईएको छ । छायांकनको लागि उनको केहिदिन पछि उपस्थिति रहने पत्रकार सम्मेलनमा बताईयो ।

फिल्मको गीतमा गायिका अन्जु पन्त तथा अन्य गायकगायिकाहरुको स्वर रहने बताइएको छ । झन्डै १ करोड लागतमा बन्ने फिल्मलाई नेपाल, अमेरिका लगायत विश्वभर रिलिज गर्ने निर्माण युनिटको योजना रहेको छ ।