नीतासँग सचिनको मरिहत्ते

काठमाडौं । गायक सचिन रौनियारले गायकसँगै अभिनेताको रूपमा आफूलाई अगाडी बढाएका छन् । उनको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरियो । सन्तोष सुनारको शब्द र संगीत रहेको गीतको भिडियोमा सचिनसँगै अभिनेत्री नीता ढुङ्गानाको अभिनय रहेको छ ।

‘मैले कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ । निर्देशकले चरित्रमा फिट हुन्छ भन्नुभयो’,गायक रौनियारले भने,‘डिजिटल समयमा ए मान्छेपछि कम्ब्याक भएँ । समयानुसार नै आफूलाई प्रस्तुत गर्दैछु ।’ गायक रौनियारका ‘छ भनौ कि छैन भनौ’, ‘यो वनमा छैन क्यारे न्याउली कराउदिन’, ‘ए कान्छी’, ‘ए माया कहाँ छौ कहाँ’, ‘झन् झन् बढ्यो याद तिम्रो’, ‘आफ्नो मान्छे’लगायतका गीत हिट छन् ।

अभिनेत्री ढुङ्गानाले आफूले निर्वाह गरेको भूमिकाले मनोरञ्जनसँगैसंदेश दिने जानकारी दिईन्। ‘गृहणीको भूमिकामार्फत दैनिकीमा देखिने समास्या र सामाजिक दायित्वलाई यसमा समेटेका छौँ’, अभिनेत्री ढुङ्गानाले भनिन् । कार्यक्रममा कुन्ती मोक्तान, लोचन भट्टराई, दीपक बज्राचार्य, दीपक शर्मा, निर्मल शर्मा लगायतको उपस्थिति थियो।

निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पतिको कथा देखाईएको छ । बच्चालाई जीवनको अमुल्य सपना बनाएका दम्पतिले स्वास्थ्य समस्या, सामाजिक संघर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ । भिडियोमा हरी हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन छ ।