काठमाडौं । कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’को पहिलो गीत रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको निर्माण पक्षले शनिबार नै पहिलो गीत सार्वजनिक गरेको हो ।
‘चरी बस्यो’ बोलको लिरिकल गीतमा कालीप्रसाद बास्कोटाको शब्द, संगीत तथा स्वर रहेको छ । सार्वजनिक गीतकोे लिरिकल भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको नोकझोकलाई प्रस्तुत गरिएको छ । फिल्म आगामी वर्ष अर्थात् २०८० को वैशाख १ गते रिलिज हुँदैछ ।
जारी प्रथामा आधारित रहेको फिल्ममा लिम्बु संस्कृति र भेषभुषा देखाइएको छ । फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।
उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।
बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको फिल्ममा सिर्जना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह–निर्माता छन् ।