बुटवल । चलचित्र पत्रकार संघको २४ औ स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ रुपन्देहीले एक कार्यक्रमका बीच २ जना पत्रकारलाई सम्मान गरेको छ । बुटवलमा दिवंगत पत्रकार एन बी कँडेलको स्मृतिमा एन बी चलचित्र पत्रकारिता पुरष्कार तथा नवोदित चलचित्र पत्रकारिता पुरष्कार संघले प्रदान गरेको हो ।
गायिका देविका बन्दनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार स्वः एनबी कंडेलकी श्रीमती मञ्जु कँडेलको हातबाट विगत २५ वर्षबाट कला मनोरञ्जन क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार टीआर शर्मा ( टोपराज)लाई १० हजार रुपैंयाँ राशीको ‘एनबी चलचित्र पत्रकारिता पुरस्कार २०७९’ बाट सम्मान गरिएको थियो ।
त्यस्तै ५ हजार रुपैंयाँ राशीको ‘नवोदित चलचित्र पत्रकारिता पुरस्कार’बाट खस्यौली साप्ताहिकका सम्पादक वीरेन्द्र कुँवर पुरस्कृत भए ।
गायिका वन्दनाले नेपाली फिल्ममा गीत गाएदेखी पछाडि फर्केर हेर्नु नपरेको इतिहास सम्झँदै चलचित्र पत्रकार र कलाकार तथा त्यससँग सम्बन्धित गायकगायिका संगीतकार तथा प्राबिधिकको सम्बन्ध नङ र मासुको भएको बताइन् ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष कविन्द्र नेपाल, जनपत्रकार संगठनका विनोद खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, निवर्तमान अध्यक्ष सुमन श्रेष्ठ, सल्लाहकार मनिष पन्थलगायतले पुरष्कृत हुने पत्रकारद्वयलाई बधाई दिदै चलचित्र पत्रकार संघ रुपन्देहीले गरेको सम्मानले समग्र कला मनोरंजनको क्षेत्रमा पत्रकारलाई लेख्न प्रेरणा दिएको बताएका थिए।