अमेरिकामा जारीपछि नाङ्गो गाउँको उच्च माग

काठमाडौं । आगामी भदौ २८ गतेबाट रिलिज हुने फिल्म ‘नाङ्गो गाउँ’को माग अमेरिकामा फिल्म ‘जारी’ पछि उच्च देखिएको छ । यो फिल्मको अमेरिका तथा क्यानडाको राइट्स उच्च मुल्यमा विक्री भएको छ । यो फिल्म अमेरिका र क्यानडाका २२ भन्दा बढी राज्यका ५० बढी शहरमा प्रदर्शन हुने निर्माणपक्षले बताएको छ ।

यो फिल्मलाई अमेरिका र क्यानडामा नेपाल इलेभेनले रिलिज गर्दैछ । नेपाल इलेभेनका प्याट्रिक सुवेदीले दिएको जानकारी अनुसार अहिलेसम्म अमेरिकामा मात्र ४ सय भन्दा बढी शोको टुंगो लागिसकेको छ । उनले शोको संख्या थपिने क्रम जारी रहेको बताए । फिल्म ‘जारी’पछि अमेरिकामा सबैभन्दा बढी माग भएको फिल्ममा ‘नाङ्गो गाउँ’ रहेको सुवेदीले जानकारी गराए ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । यो फिल्मलाई लिएर विदेशमा रहेका नेपालीहरुले उत्साहजनक रुपमा चासो लिइरहेका छन् ।