विजय भन्छन्–अन्तिम संस्कारमा इमोसन छ

काठमाडौं । निर्देशक प्रदीप शाहीको निर्देशनमा बनेको फिल्म ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरु विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जनलाई स्थान दिइएको छ ।

साइ प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्ममा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो ।

अभिनेता लामाले यो फिल्मको कथावस्तु नितान्त नयाँ रहेको बताए । ‘यो फिल्म हाम्रो आफ्नो कथा हो । नेपालीहरुको कथा हो । यसमा रहस्य पनि छ । यसमा परम्परा पनि छ । यसमा इमोशन पनि छ’ उनले भने ।

अभिनेत्री दीयाले आफुले पहिले गरेको आफ्नो क्यारेक्टर भन्दा फिल्म ‘अन्तिम संस्कार’ मा आफ्नो भूमिका फरक रहेको बताइन् । निर्देशक प्रदीप शाहीले आफुले लामो समय लन्डन बस्दा सिकेको कुरालाई फिल्ममा सक्दो उतार्ने कोशिस गरेको बताए ।

नेपालमा विदेशी फिल्मको वितरण गर्दै आएको कम्पनी एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई देशव्यापी वितरण गर्नेछ । यो फिल्म सामाजिक तथा सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । एक हत्या घटनाको रहस्यको वरपर कथा बुनिएको छ ।

फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमेजन प्राइममा समेत रिलिज भइसकेको छ । फिल्ममा विजय लामा,दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ लामा, विकास अधिकारी, सरोज खालिङ राई, सुस्मिता गिरी,दिग्गज खत्री,सरोज कुमाल,धर्मानन्द आचार्य लगायतको अभिनय रहेको छ । बाबु श्रेष्ठको छायाङ्कन,रुपेश गुरुङको सम्पादन रहेको यस फिल्मको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।

तस्वीरः सुरेन्द्र थापा