मुम्बई(एजेन्सी) । भारतीय सिरियल ‘महाभारत’मा सकुनी मामाको भूमिका निभाउने अभिनेता गुुफी पेन्टल अस्पताल भर्ना भएका छन् । परिवारका अनुसार उनको अवस्था गम्भीर छ ।
अभिनेत्री टिना घईले गुफीको स्वास्थ्य अवस्थाको पुष्टि गरेकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गुफीका लागि प्रार्थना गर्न आग्रह गरेकी छ्न । ‘परिवार र अभिनेताले स्वास्थ्य अवस्थाको बारेमा कुनै पनि कुरा सार्वजनिक गर्न चाहेका छैनन् । त्यसकारण अहिलेको अवस्थामा उनको स्वास्थ्य अवस्थाको प्रार्थना गर्नु नै उत्तम हुनेछ’, उनले लेखेकी छन् ।
गुफी लामो समयदेखि अस्वस्थ थिए । तर ३१ मेमा उनको अवस्था नाजुक भएपछि अस्पताल भर्ना गरिएको हो ।
गुफीले सन् १९८० को दशकमा हिन्दी फिल्मको अलावा केही टेलिभिजन धारावाहिकमा अभिनय गरेका थिए । उनी अभिनयमा पाइला चाल्नुअघि इञ्जिनियर थिए । उनले पहिचान भने बीआर चोपडाको सिरियल ‘महाभारत’ को सकुनी मामाको चरित्रबाट पाए ।