पशुपतिनाथमा वेलकम टु हेम्जाकोटको फलफूल वितरण र सरसफाई

काठमाडौं । आगामी जेठ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वेलकम टु हेम्जाकोट’ टिमका सदस्यहरुले पशुपतिनाथ मन्दिरमा रहेको अनाथ आश्रममा फलफूल वितरण गरेका छन् । उनीहरुले पशुपति क्षेत्रमा यो समुहले सरसफाईसमेत गरेका छन् ।

समाजसेवामा पनि हातेमालो गरौं भन्ने सोचका साथ निर्माण टिमले उक्त कार्यक्रमको आयोजना गरेको निर्माता तेजप्रसाद दाहालले जानकारी दिए । फिल्मका निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक सहित यो कार्यक्रममा केहि अतिथीहरु कलाकारहरु मिस पवी, सुजन कार्की, सुवलमणी सापकोटा, सुरवी सापकोटालगायत पनि उपस्थित थिए । कलाकारसहित अतिथीहरुले फिल्मको पोस्टर समावेश टिसर्ट समेत लगाएका थिए ।

फिल्ममा तेजप्रसाद दाहाल, सरोज कुमार पुर्बे, सुमन खड्का, बाबुराम कार्कीको समेत लगानी रहेको छ । फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन् । निर्माण टिमले यसअघि फिल्मको पोस्टर, ट्रेलर, गीत सार्वजनिक गरिसकेको छ ।

फिल्ममा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, अम्बिका तामाङ, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा, प्रेविल कंडेल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । पोखरामा रहेको पर्यटकिय स्थल हेम्जाकोटमा खिचिएको फिल्मको नाम पनि त्यहिँबाट सापट लिइएको हो । यसले स्थानियस्तरको पर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको विश्वास छ ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादनमा तयार फिल्मका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको फिल्मका गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान,उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ । फिल्मलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् । यस्तै, निर्देशक सरोज पौडेलले भारत, अस्टे«ेलिया, जापान लगायत युरोपका विभिन्न देशमा फिल्मको विदेश राइट्स समेत बिक्री भइसकेको जानकारी दिए ।