‘नीरफूलले पहिचानवादी मुद्दालाई बलियोसँग उठाएको छ’

काठमाडौं । अभिनेता दयाहाङ राईको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘नीरफूल’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । दयाहाङले लामो समयसम्म छायामा परेका आफुना कथामा काम गर्न पाएको स्मरण गर्दै ‘नीरफूल’ त्यस्तै कथा रहेको बताए ।

‘नीरफूलले पहिचानवादी मुद्दालाई बलियोसँग उठाएको छ । मुलुकमा बेरोजगार एउटा नेपाली केही वर्ष विदेशमा रोजगारी गरेर घर फर्कँदा उसको थातथलो नै नेपालको नक्साबाटै हराउनु, उसको गाउँ नै नभेटिनु जस्तो बिडम्बना के हुन सक्छ ?’ दयाहाङ भन्छन्, ‘नीरफूलमा भूकम्पले निम्त्याएको विनासको घटना भए पनि यसको कथा अर्कै छ ।’

दयाहाङले फिल्ममा आफूले भेडा चराएको अनुभव सुनाए । ‘जीवनमा मैले कहिल्यै गोठालो भएर भेडा चराएको थिइनँ् । भेडाको स्याहारसुसारमा विशेष कला हुनुपर्ने रहेछ,’दयाहाङ भन्छन्, ‘यो फिल्म खेलेपछि भेडी गोठालो बन्न सजिलो रहेनछ भन्ने थाहा भयो । गोठाले बन्ने काम बाहिरबाट हेर्दा जति सजिलो छ, गर्न त निकै गाह्रो पो हुँदो रहेछ ।’

दयाहाङको बुझाईमा फिल्मले भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित कथा देखाए पनि दर्शकलाई आफ्नो भूमिका फरक हुने बताए ।

‘नीरफूल’मा काम गर्दा उनले तामाङ संस्कृतिलाई नजिकबाट बुझ्ने मौका पाएका रहेछन् । ‘तामाङहरुमा पनि बुद्धिजम र तान्त्रिजम गरी दुईवटा समुदाय रहेछ । विवाहबाट यी दुई समुदाय जोडिएपछिको पारिवारिक संरचनादेखि उनीहरुको नामाकरण तथा अन्य धेरै संस्कृतिहरु पनि फिल्ममा देख्न पाइन्छ’, दयाहाङ भन्छन् ।

फिल्ममा दयाहाङले आफ्नो थातथलो नेपालको नक्साबाटै गुमेको र भूकम्पपछि आफ्नो परिवार नै हराएको नेपाली नागरिकको भूमिका निर्वाह गरेका छन् । उनका अनुसार नागरिक प्रति राज्य कतिसम्म गैर जिम्मेवार छ भन्ने कुरा दयाहाङको भूमिकामार्फत देखाइएको छ ।

फूलमान बलको निर्देशन रहेको फिल्ममा दयाहाङ राईसँगै शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा, बिजय लामालगायतको अभिनय रहेको छ । रेखा थापा यो चलचित्रमा विशेष भूमिकामा छिन् । बाल गायिका जिम्मे छ्योइकी र नाट्यकर्मी शान्ति वाइबाले यही फिल्मबाट ठुलो पर्दामा डेब्यु गरेका छन् ।