बुटवल । नेपाली कथानक चलचित्र रोशनीको गीत ‘जुनी जुनी’को शुक्रबार बुटवलमा विमोचन गरिएको छ । फिल्मको मुख्य अंशका रुपमा रहेको उक्त गीतमा गायक अनिल पहाडी र गायिका अन्जु पन्तले स्वर दिएका छन् । गीत विमोचनपछि बोल्दै गायक पहाडीले फिल्म क्षेत्रमा आफूले पहिलो पटक स्वर दिएको अनुभव सुनाउँदै दर्शक तथा स्रोताले साथ दिनेमा विश्वास व्यक्त गरे ।
डा. कृष्णहरि बरालको शब्द रहेको गीतमा फिल्मका कलाकारहरु रमेश अब्जु, कशिसा दाहाल, नितल पल, सुरज राना तथा मेनका गिरीको अभिनय रहेको छ । फिल्मको शनिबार बुटवलमा च्यारिटी शो हुने भएको छ । बुटवलको मिलन हलमा दिउसो ३.४५ बजेदेखि सोको आयोजना गरिएको निर्माता रमेश आब्जुले जानकारी दिए । चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले च्यारिटी शोमा करिब १ हजार दर्शकको उपस्थिती रहने जानकारी गराए ।
बुटवलसहित मुलुकका विभिन्न शहरहरुमा गएर चलचित्र छायाँकन गरिएको जानकारी दिए । ५० लाख बढी लगानी गरिएको यो चलचित्रले दर्शकलाई फिल्म अवधिभर पूर्णरुपमा भुलाउन सक्ने क्षमता रहेको दाबी गरे ।
यसैगरी निर्माता मलिन भारी, चलचित्रका नायक नितन पल लगायतले बोल्दै संघीय राजधानी काठामाण्डौं बाहिरका विभिन्न शहरहरुको जनजिविकालाई टिपेर बनाइएको चलचित्र भएका कारण मोफसलबाटै सबैभन्दा बढी दर्शक पाउने विश्वास व्यक्त गरे ।
चलचित्र पत्रकार संघका उपाध्यक्ष दिनेश श्रेष्ठले सम्पूर्ण फिल्म निर्माता तथा कालाकार टिमलाई बधाई ज्ञापन गरे । फिल्म समावेश गरिएको जुनी जुनी बोलको गीतले साच्चै नै मनको गहिराईलाई बुझ्न सक्ने र समसामयीक धरातलमा रहेर तयार पारिएको भनि प्रशंसा व्यक्त गरे ।
अधिकांश स्थानीय कलाकारको अभिनय रहेको फिल्म र त्यसमा समावेश गीतलाई यहाँका दर्शक तथा स्रोताले साथ दिनका लागि समेत उनले आग्रह गरे । कार्यक्रम डि.बी. सुस्लिङको सञ्चालनमा भएको थियो ।