नालापानीको च्यारिटीमा कोतपर्वको कुरा

काठमाडौँ। बिहिबार काठमाडौँमा आयोजित ऐतिहासिक नेपाली फिल्म ‘नालापानी’को च्यारिटी प्रदर्शनीमा निर्माणाधिन फिल्म ‘कोतपर्व’को घोषणा गरिएको छ । वि.सं. १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा घटेको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने फिल्ममा रिमेश अधिकारीको निर्देशन रहनेछ । यसअघि अधिकारीले ‘नालापानी’ निर्देशन गरेका थिए ।

प्रतिनिधि सभा सदस्य हरि ढकालको प्रमुख आथित्यतामा भएको च्यारिटी कार्यक्रममा ‘कोतपर्व’का निर्देशक, लेखक तथा निर्माता परिचय गराईएको छ । फिल्मका निर्देशक अधिकारीको कम्पनी रिमेश अधिकारी फिल्मस र यस फिल्मका एशोसियट निर्देशक श्रीदेव बिएलको कम्पनी श्रीत फिल्म्स एण्ड इन्टरटेन्मेन्टुको संयुक्त ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । जसका कार्यकारी निर्माता शिवचन्द्र रहेका छन् भने आरसी शर्मा र शारदा खड्का अर्याल निर्माता र राजेन्द्र ढकाल (राजु) र राजाराम सुवाल सह निर्माता रहेका छन् । फिल्ममा महेश दवाडीको लेखन रहनेछ ।

प्रमुख अतिथि ढकालले सात बर्ष लगाएर ऐतिहासिक फिल्म ‘नालापानी’ बनाएकोमा धन्यवाद दिँदै नयाँ फिल्म कोतपर्व’लाई सफलताको शुभकामना दिए । ‘नेपालमा पछिल्लो समय इतिहास बिर्सने, इतिहास नपढ्ने र कतिपय ऐतिहासिक दस्तावेजहरु हुनुपर्ने ठाउँमा नहुने देखिएको छ । त्रिभुवन विश्वविद्यालयमा अहिले इतिहाससँग सम्बन्धित प्राध्यापकहरु हुनुहुन्छ तर, पढ्ने विद्यार्थी छैनन् । जुन देशको कला संस्कृति र इतिहासमा यस प्रकारको विपद आउँछ, यसले सामाजिक विचलन ल्याउँछ’, ढकालले भने, ‘कला, संस्कृति, धर्म र इतिहासको विचलन आउने बित्तिकै समाजमा विचलन आउँछ । हामीले ति लक्षणहरु भोगिसकेका छौँ ।’ ढकालले आफ्ना छोराछोरीलाई हाम्रा गर्विला इतिहासलाई पढ्न, सुनाउन अग्रसर रहनैपर्ने बताए ।

नेपालीको कला र संस्कृतिलाई विश्वमाझ पुर्‍याउने उद्देश्यका साथ सक्रिय नेशनल डेल्फिक काउन्सिल नेपालले आयोजना गरेको च्यारिटी कार्यक्रममा वीर विभुती बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष प्रा.डा. धनबहादुर कुँवर, महान योद्धा वीर बलभद्र स्मृति समाजका अध्यक्ष रामराजा कुँवर (बलभद्र कुँवरका पाँचौ पुस्ता) र कुँवर समाजका अध्यक्ष डा. देशराज कुँवरलाई सम्मान प्रदान गरिएको थियो ।