श्याम, लोचन र हर्षुलाई सम्मान

धरान । धरान संगीत प्रतिष्ठानले हरेक वर्ष जुन २१ तारिखमा मनाईने विश्व संगीत दिवसको अवसरमा गर्दै आएको बिशेष सांगीतिक कार्यक्रमलाई दुई दिन पछाडी असार ८ गते शुक्रबार धरानको चुम्लुङ्ग हिमको हलमा गायिका लोचन भट्टराई र गायिका हर्षु राईलाई सम्मान तथा गीतकार तथा संगितकार श्याम तमोटलाई अभिनन्दन गरेको छ।

एक दशकअघि स्थापना भएको धरान संगीत प्रतिष्ठानले दसौ बार्सिकोत्स्व केक समेत काटेको थियो। शुक्रबार साँझ सम्पन्न ‘सिलेब्रेटिंग वर्ल्ड म्युजिक डे २०२३’ कार्यक्रममा धरान संगीत प्रतिष्ठानका अध्यक्ष एवं वडा नं २ का अध्यक्ष रमेश राई, प्रतिष्ठानका संरक्षक मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, तथा प्रतिष्ठानका सल्लाहकार गायक दिप श्रेष्ठको हातबाट सम्मान गरिएको हो ।

धरानकी गायिका लोचन भट्टराईले आफुले अहिलेसम्म पाएको १३५ वटा अवार्ड सम्मान भन्दापनि आफ्नो घरको यो सम्मानले जीवनकै उल्लेखनीय सम्मान भएको बताइन् । उनले टाढा–टाढा नभई जाउ तिमी, माया गर्नेको , गरिबको चमेली , खोटांग जिल्ला लगायतका गीतहरु सुनाइन् । गायक दिपले साहिली बरी, मेरो आँखामा, हुँ यात्री म एउटा लगायतका गीत सुनाए ।

धरानको गीत, संगीतको क्षेत्रको उत्थानको लागि आवश्यक सहयोग गर्ने बताएका मेयर हर्क साम्पाङले हाम्रो धर्ति हाम्रो आकाश बोलको गीत प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष राईले संस्थाको संरक्षक धरान उप– महानगरपालिकाका मेयर रहने व्यवस्था गरिएको जानकारी दिदै गीत, संगीतको विकासको लागि उपमहानगरपालिकाबाट आवश्यक बजेट विनियोजना गरिदिन आग्रह पनि गरेका थिए । उनले प्रतिष्ठानलाई संगीत एकेडेमीकोरुपमा अघि बढाउने योजना संगै धरानको शान गायक दिप श्रेष्ठको नाममा दिप श्रेष्ठ ट्रस्ट समेत स्थापना गरिने बताए ।

इक्सा मादेन र प्रमोद पोर्तेलले संचालन गरेको कार्यक्रम धरान संगीत प्रतिष्ठानको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा सम्पन्न भएको थियो।