काठमाडौँ । यही असार २९ गते रिलिज हुने नेपाली फिल्म ‘बगान’को गीत सार्वजनिक भएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको यस गीतमा सुरेश वाग्लेको शब्द, हरी लम्सालको संगीत र अञ्जु पन्तको स्वर रहेको छ । यसको भिडियोमा अभिनेत्री करिश्मा मानन्धरलाई प्रमुख स्थान दिईएको छ ।
गीतमा फिल्म भित्र करिश्मा मानन्धरको जीवनकथा समेट्ने दृश्यहरु समावेश गरिएको छ । काखे छोरी हुर्काउँदै एकल जिन्दगी बिताउनुपर्दाका विभिन्न भोगाईहरु गीतमा देखाइएको छ । अभिनेत्री मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको फिल्ममा अभिनेता सरोज खनालको निर्देशन छ ।
फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो फिल्मबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् ।
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि।एफ।एक्स। तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।
यो फिल्म नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।