कल्याणकारी कोषमा एक लाख सहयोग

काठमाडौं । अमेरिका निवासी नारायण अधिकारीले चलचित्र विकास बोर्डअन्तर्गत रहेको चलचित्रकर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग प्रदान गरेका छन् । बोर्डको कार्यालयमा बुधबार अधिकारीले १ लाख पाँच हजार रकम सहयोग गरेका हुन् ।

अधिकारीले आफु सधैं नेपाली फिल्मको शुभचिन्तक रहेको बताउँदै नेपाली फिल्मकर्मीको सहायता स्वरुप कल्याणकारी कोषमा थप सहयोग जुटाउन आफ्नो सक्रियता रहने घोषणा गरे ।

कोषकी संयोजक बसुन्धरा भुषालले कोषलाई सहयोग गर्दा एकपटक मात्र नभई जुग जुगसम्मलाई सहयोग हुने बताइन् । बोर्ड अध्यक्ष भुवन केसीले सहयोगदाता अधिकारीको प्रशंसा गर्दै फिल्मकर्मीलाई राहत होस् भनेर मनबाट गरेको सहयोगलाई लिएर सबै फिल्मकर्मी आभारी रहने बताए ।

चितवनमा जन्मिएका अधिकारी विगत चौध वर्षदेखी अमेरिकाको पेन्सिलवेनियामा रही व्यवसाय सन्चालन गर्दै आएका छन् ।