यी हुन् पाम नेपाल फिल्म फेस्टिभलका विजेता

काठमाडौं । पहिलो फिल्म ‘आमा’की अभिनेत्री भुवन चन्दलाई ‘दिर्घसाधना सम्मान’ प्रदान गर्दै पाँचौं पिम नेपाल फिल्म फेष्टिभल भब्य रुपमा सम्पन्न भएको छ । सांस्कृतिक संस्थानमा तीन दिनसम्म चलेको फेष्टिवलको समापन समारोहमा विभिन्न विधाका उत्कृष्ट फिल्म, कलाकार तथा प्राविधिकहरुलाई अवार्ड प्रदान गरिएको हो ।

जहाँ आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् । फेष्टिभलमा सिग्देलले फिल्म ‘डिसेम्बर फल्स’ र कार्कीले फिल्म ‘बगान’बाट उक्त अवार्ड प्राप्त गरेका हुन् । यस्तै फिल्म ‘लाखे’बाट सम्राट बस्नेतले ‘उत्कृष्ट फिचर फिल्म निर्देशक’को अवार्ड प्राप्त गरे भने ‘सर्वोत्कृष्ट फिचर फिल्म’को अवार्ड फिल्म ‘प्रकाश’बाट निर्देशक दिनेश राउतले प्राप्त गरेका छन् ।

फिल्म ‘प्रकाश’बाटै ‘सर्वोत्कृष्ट फिचर फिल्म लेखक’को अवार्ड विकास सुबेदीले प्राप्त गरे भने ‘सर्वोत्कृष्ट भिएफएक्स आर्टिष्ट’को अवार्ड समिर मियाँले प्राप्त गरे । समारोहमा फिचर फिल्म तर्फको जुरी अवार्ड फिल्म ‘नम्बरी सुन’ले पायो भने, फिचर फिल्म निर्देशक तर्फको जुरी अवार्ड फिल्म ‘डेशान’बाट कमल एक्चै मगर र वेष्ट एक्टर जुरी अवार्ड फिल्म ‘लाखे’बाट रोहित रुम्बाले प्राप्त गरेका छन् ।

‘उत्कृष्ट सर्ट फिल्म’को अवार्ड ‘ऐना’ले प्राप्त ग¥यो भने बेष्ट तामाङ फिल्मको अवार्ड ‘आप्लेङ ला नाम्सा’बाट शेखर लामाले प्राप्त गरे । यस्तै वेष्ट भोजपुरी फिल्मको अवार्ड ‘मधेशी पुत्र २’ ले प्राप्त गर्दा, मैथली फिल्म ‘समय के खेला’बाट विक्रम गुप्ताले अवार्ड हात पारे । त्यसै गरि नेपाल भाषाको फिल्म अवार्ड रोजिन महर्जनले फिल्म ‘उच्च शिक्षा’बाट प्राप्त गरेका छन् । समारोहमा उत्कृष्ट फिल्म पत्रकारको अवार्ड कुबेर गरी र उत्कृष्ट मनोरञ्जन पत्रकारको अवार्ड कृष्ण कँडेलले प्राप्त गरेका छन् ।

समारोहमा बिभिन्न बिधामा उत्कृष्ट योगदान दिएका कलाकर्मीहरुलाई सम्मान समेत गरिएको छ । समारोहमा निर्देशक ऋषिराज आचार्य, अभिनेता तेज गिरी, पत्रकार दिपक बिहिन, फिल्म पत्रकार सचित खड्का, लोकगायक रामकुमार नेपाली र लोकगायक अमृत भारतीलाई सम्मान गरिएको छ ।

निर्देशक माधवराज खरेल संयोजक रहेको निर्णायक कमिटीमा फिल्म पत्रकार बिजय रत्न तुलाधर, फिल्म पत्रकार बिष्णु सुबेदी, लोक गायक कुलेन्द्र विश्वकर्मा, गायक शिव परियार, मेकअप आर्टिष्ट बिक्रम गौतम, सञ्चारकर्मी दिर्घराज उपाध्याय, सञ्चारकर्मी कमलनाथ अधिकारी र फिल्म अर्काइभिष्ट चिरञ्जिवी गुरागाई रहेका थिए । आयोजक संस्था पावर नेपाल इन्टरनेशनल मिडिया नेपालका सल्लाहकार शान्तिप्रियको अध्यक्षतामा समारोह सम्पन्न भएको थियो ।