बन्द भयो ह्वाट द फ्लप

काठमाडौं । पटक–पटक विवादमा तानिँदै आएको कान्तिपुर टिभी एचडीको ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण बन्द भएको छ । टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ ।

गत असार २३ गते शनिबार अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टिभीले माफी माग्दै उक्त एपिसोडलाई हटाएको थियो ।

बिहीबार जारी सूचनामा कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ ।