जय होको प्रचारमा सलोनको संवाद र गीत

काठमाडौं । अभिनेता सलोन बस्नेत यतिबेला आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को प्रचारमा निकै व्यस्त छन् । केही दिनमा फिल्म रिलिजको लागि अष्ट्रेलिया उड्न लागेका उनी विभिन्न मिडियालाई अन्तरवार्ता दिने लगायत विभिन्न कार्यक्रममा सहभागी भएर फिल्मको प्रचार गरिरहेका छन् ।

यसैबीच आइतबार सलोन अभिनेत्री केकी अधिकारी र फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतलाई लिएर प्रज्ञा भवन पुगेका थिए । त्यहाँ एपेक्स कलेजले एक दिने भव्य कार्यक्रमको आयोजना गरेको थियो । कलेजले हरेक बर्ष गर्ने एक दिने सांस्कृतिक कार्यक्रममा सिनेमाको टिम पुगेको हो ।

अभिनेता सलोन त्यहाँ पुगेर विद्यार्थीसँग अन्तरक्रिया गर्नुका साथै आफुले आजसम्म अभिनय गरेका फिल्मका संवाद बोलर दर्शकलाई मनोरञ्जन गराएका थिए । उनले विद्याथीमाझ गीतसमेत गाएका थिए । यस्तै अभिनेत्री केकी अधिकारीले पनि फिल्मको बारेमा जानकारी दिँदै आगामी भाद्र ८ गते रिलिज हुने फिल्म हेरिदिन आग्रह गरेकी थिइन् ।

शोभित बस्नेतको प्रस्तुतीमा निर्माण भएको फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । फिल्ममा सलोन र केकीका अलवा अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

फिल्ममा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह–सम्पादन, समीर मियाँको भिएफएक्स रहेको फिल्मका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् । मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको सिनेमाका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमालाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।