रजनीकान्तको जेलरविरुद्ध निर्देशकको मोर्चाबन्दी

मुम्बई(एजेन्सी) । तमिल सुपरस्टार रजनीकान्त आफ्नो बहुप्रतिक्षित फिल्म ‘जेलर’का साथ चाँडै नै थिएटरमा आउँदैछन् । यो फिल्म एकसाथ ५ भाषामा १० अगष्टमा रिलिज हुँदैछ । यो फिल्मलाई लिएर दक्षिण फिल्ममा निकै विरोध र प्रदर्शन भइरहेको छ ।

अहिले रजनीकान्तको फिल्मविरुद्ध मलयालम फिल्म निर्देशक सकिर मादाथिलले मोर्चा बनाएका छन् । जुन दिन रजनीकान्तको फिल्म ‘जेलर’ थिएटरमा पुग्दैछ, सोही दिन मलायलम फिल्म निर्देशक सकिरको फिल्म ‘जेलर’ पनि रिलिज हुँदैछ ।

यो महाभीडन्तको असर मलयालम निर्देशक सकिरको फिल्ममाथि परिरहेको छ । जसकारण उनले फिल्मका लागि राम्रो थिएटर पाउन सकेका छैनन् । सकिर केरल फिल्म चेम्बर अफ कमर्सको अगाडि एक दिनका लागि धर्नामा बसेका छन् । उनले दोस्रो भाषाको फिल्मको रिलिजबाट मलयालम फिल्मलाई बचाउन माग गरेका छन् ।

‘केरलमा प्रदर्शक मेरो फिल्म रिलिज गर्नका लागि उत्सुक छैनन् र रजनीकान्तको फिल्म प्रमोट गरिरहेका छन् । यदि यस्तै अवस्था रह्यो भने मलायलम फिल्म कसरी सुध्रिन्छ । जबकी थिएटर मालिक नै ४२ दिनको विन्डोमा फिल्मको ओटीटी रिलिजलाई लिएर दबाब बनाइरहेका छन्,’ उनले भनेका छन्, ‘मलाई तमिल फिल्महरु केरलमा रिलिज हुनेमा कुनै आपत्ति होइन । तर यी मलयालम फिल्मलाई रोक्नु हुँदैन । मलाई मेरो फिल्मबाट राम्रो रिटर्न हुनका लागि ७० देखि ७५ स्क्रिनको आवश्यकता छ । तर यो अवस्था हेर्दा फिल्मले ४० थिएटर पनि नपाउला जस्तो छ ।’

यसअघि फिल्मको नामलाई लिएर पनि निर्देशक सकिर र रजनीकान्तको फिल्म निर्माता सन पिक्चर्स बिच विवाद भएको थियो । सकिरले फिल्मको नाम ‘जेलर’ सन् २०२१ मा केरल फिल्म चेम्बर अफ कमर्समा दर्ता भएको दाबी गरेका छन् । त्यो बेला रजनीकान्तको फिल्मको नाम पनि टुंगो नलागिसकेको उनको दाबी छ ।