सर्तसहितको कमब्याक चाहन्छिन् हेमा

मुम्बई(एजेन्सी) । बलिउडकी ‘ड्रिम गर्ल’ अर्थात् हेमा मालिनी तीन वर्षयता फिल्मबाट टाढा छिन् । उनलाई पछिल्लो पटक सन् २०२० मा रिलिज फिल्म ‘शिमला मिची’मा देखिएको थियो ।

हेमाले राजनीति क्षेत्रमा पनि आफ्नो शक्ति देखाइसकेकी छिन् । यद्यपि उनलाई फिल्ममा कमब्याक गर्ने इच्छा छ । यो कुराको खुलासा उनले गरेकी छन् । तर उनले एक शर्तसहित कमब्याक गर्ने चाहेकी छन् ।

‘कोही आउनुपर्छ र मलाई एक राम्रो भूमिकाका लागि साइन गर्नुपर्छ । मेरो उमेरका लागि उपर्युक्त भूमिका हुनुपर्छ । ग्ल्यामरस तर मेरो अनुरुपको’, उनले भनेकी छन् ।

हेमा फिल्ममा नकारात्मक चरित्र निभाउन चाहन्नन् । ‘म आफैंमा नकारात्मक व्यक्ति होइन । म आफ्नो बारेमा यस्तो कहिल्यै पनि सोच्दिनँ । म कसैको लागि खराब सोच्दिनँ । त्यसकारण नकारात्मक भूमिका कसरी निभाउन सकुँला ? मेरो अर्थ यो हो कि भूमिका त जुनसुकै पनि निभाउन सक्छु, तर मलाई त्यस्तो भूमिका गर्नु छैन । भूमिका सकारात्मक हुनुपर्छ र सकारात्मक सन्देश दिने किसिमकै पनि’, उनले भनेकी छन् ।

हेमाले सन् १९६३ को तमिल फिल्म ‘इधु साथियमु’बाट अभिनय करियर सुरुवात गरेकी थिइन् । त्यसपछि उनले सन् १९६८ मा फिल्म ‘सपनोंका सौदागर’बाट बलिउडमा पाइला चालिन् ।