जवान प्रमोसनमा यस्तो छ शाहरुखको रणनीति

मुम्बई(एजेन्सी) । फिल्म ‘पठान’को सुपर सफलतापछि अभिनेता शाहरुख खान एकपटक पुनः एटलीको फिल्म ‘जवान’मार्फत एक्सन अवतारमा फर्कदैछन् । हालैमात्र फिल्मको टिजर र गीत ‘जिन्दा बन्दा’ रिलिज भइसकिेको छ ।

सेप्टेम्बर ७ मा रिलिज हुने फिल्मका लागि अब एक महिना मात्र समय बाँकी छ । अब फिल्मको ट्रेलर कस्तो आउँछ भन्ने चासो सबैमा छ ।
फिल्म रिलिजको एक महिना बाँकी रहँदा शाहरुख र फिल्मका निर्माताले प्रमोसन अभियान कसरी चलाउँछन् भन्ने चासो उस्तै छ । किनकी हालसम्म फिल्मले प्रमोसनको काम सुरु गरेको छैन ।

शाहरुखले फिल्मको प्रमोसनमा ‘पठान’ रणनीति अपनाउने भएका छन् । शाहरुखले ‘पठान’ रिलिज अघि कुनै पनि अन्तरवार्ता दिएका थिएनन् । तर पनि फिल्म अलटाइम ब्लक बस्टर बन्यो । अब ‘जवान’का लागि पनि उनी यही रणनीतिलाई अपनाउन चाहन्छन् । शाहरुखलाई बिना अन्तरवार्ता पनि दर्शक थिएटरसम्म आउन सक्छन् भन्नेमा विश्वास छ ।

‘केही प्रमोसन कार्यक्रम बनाइएका छन्, तर यसमा कुनै प्रश्नोत्तर हुने छैन, जुन अहिले ट्रेन्डमा छ । यद्यपि आशा छ कि शाहरुख आफ्नो विटी शैली र हाजिरजवाफबाट प्रमोसनल इभेन्टलाई हिट बनाउनेछन् । प्रशंसकले यो विषयमा चिन्ता लिन आवश्यक पनि छैन किनकी उनी समय–समयमा ट्वीटरमा ‘आस्क एसआरके’ सेसन चलाइरहनेछन् । यो एक सुपरहिट रणनीति हो । शाहरुख आफैं फ्यानको प्रश्न र उनको आफ्नो ट्रेडमार्क मजाक शैलीमा उत्तर दिन मनपराउँछन् । फ्यान पनि उनको उत्तरको पर्खाइमा हुन्छन्’, फिल्म निकट स्रोतले भनेको छ ।

‘जवान’मा शाहरुखका अलावा नयनतारा, विजय सेतुपति, प्रियामणि, सान्या मल्होत्रा र रिधि डोगराको पनि अभिनय छ । फिल्ममा दीपिका पादुकोण विशेष भूमिकामा छिन् ।