मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान र निर्माता तथा निर्देशक करण जोहारले २५ वर्षपछि पुनः सहकार्य गर्ने भएका छन् । उनीहरुले पछिल्लो पटक सन् १९९८ मा रिलिज फिल्म ‘कुछ कुछ होता है’मा सँगै काम गरेका थिए । अब भने उनीहरु एक्सन फिल्ममा देखिन लागेका हुन् ।
करणले निर्माण गर्ने यो फिल्ममा ‘शेरशाह’ फेम्ड निर्देशक विष्णुवर्धनको निर्देशन रहनेछ । यो फिल्म नोभेम्बर २०२३ मा फ्लोरमा जानेछ । फिल्मको रिलिज भने आगामी वर्षको क्रिसमसमा रिलिज हुनेछ । यो फिल्ममा यसअघि बलिउडमा नदेखिएका एक्सन दृश्य रहने दाबी गरिएको छ ।
‘कुछ कुछ होता हे’ पछि सलमान र करण कैयौं रियालिटी शोमा सँगै देखिएका छन् । सबै कुरा मिल्यो भने यसै महिनाबाट फिल्मको प्री–प्रोडक्सनको काम सुरु हुने निर्माण पक्षको भनाइ छ । फिल्मको नाम र बाँकी स्टारकास्ट फाइनल हुन बाँकी छ ।
सलमान, करण र विष्णुवर्धन ६ महिनादेखि यो प्रोजेक्टको बारेमा कुराकानी गरिरहेका छन् । सलमान ‘टाइगर ३’को सुटिङ पुरा भएपछि करणको फिल्ममा जोडिनेछन् । यो फिल्म ७ देखि ८ महिनासम्म मल्टीपल सेड्युलमा खिचिनेछ ।