टोरन्टोमा छानियो गाउँ आएको बाटो

काठमाडौं । नेपाली फिल्म ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएको छ । निर्माण टोलीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो ।

टोरन्टोको यो संस्करण सेप्टेम्बर ७ देखि १७ तारिखसम्म चल्ने छ । नवीन सुब्बाले निर्देशन गरेको उक्त फिल्म राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ ।

निर्देशक सुब्बाले विश्वको प्रतिष्ठित फिल्म महोत्सवमा नेपाली फिल्म छनोट हुनुले यसले सकारात्मक प्रभाव पार्ने बताए । उनले भने, ‘यसले हाम्रा फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ ।’

निर्देशक सुब्बाले निर्देशनको सुरुआत गरेको पहिलो फिल्म ‘खाङ्ग्री’ नै पहिलोपटक अन्तर्राष्ट्रिय बजार पुगेको थियो । यसअघि उनीद्वारा निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएको थियो ।

फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् । महेश राई र निर्देशक सुब्बाले लेखेको चलचित्रमा जोस हेरमले छायाँङ्कन, क्वान पुन लिउङले सम्पादन र हेडी लिले सङ्गीत भरेका छन् ।