मिरुनाको माइतीमा घर ज्वाइँ दयाहाङ

काठमाडौं । अभिनेता दयाहाङ राई र मिरुना मगरको फिल्मी जोडीलाई दर्शकले पुनः हेर्न पाउने भएका छन् । उनीहरु अनिल बुढा मगरको निर्देशनमा बन्ने नयाँ फिल्म ‘घर ज्वाईं’ मा देखिन लागेका हुन् ।

फिल्म ‘जारी’ को अपार सफलतापछि दयाहाङ र मिरुनालाई लिएर फिल्म बनाउन चाहने निर्माताको ताँती लागेको छ । मगर संस्कृतिको नजिक रहेर निर्माण गरिने ‘घर ज्वाईं’ को निर्माता जनक घर्ती मगर हुन् । माघ दोश्रो साताबाट छायांकन सुरु हुने फिल्ममा बुद्धि तामाङ, शिसिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा काउचालगायतका कलाकारको समेत अभिनय रहने छ ।

पूर्वी रुकुमका बिभिन्न स्थानमा छायांकन गरिने फिल्मका प्राबिधिक र अन्य कलाकारको चयन केही समयपछि गरिने जानकारी निर्माता जनकले दिएका छन् ।

जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई सुवास कोइराला र बिनोद खतिवडाले साथ दिएका छन् । फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछ ।