महानगर निर्देशक मोहन भन्छन्–फिल्ममा युवाको सपना र यथार्थ देखाउने प्रयास

काठमाडौँ । नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको फिल्म ‘महानगर’ (वान नाइट इन काठमाडौँ) एक रातको कथामा आधारित छ । ३७ रात छायाङ्कन गरिएको फिल्ममा महानगर भित्रिनेको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गरिएको छ । सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई फिल्ममा उतारिएको लेखक तथा निर्देशक मोहन राईले बताए ।

उनले भने, ‘विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरेका छौँ । यहाँ बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले फिल्म तयार गरेँ । खासमा यो ‘ह्युमन कनेक्सन’ र ‘होप’ बारेको चलचित्र हो ।’

निर्देशक राईले उच्च शिक्षा हासिल गर्न तराईदेखि काठमाडौँ आएपछि जीवनशैली सोचभन्दा भिन्न तरिकाले अगाडि बढेको केही भोगाइलाई फिल्ममा समावेश गरिएको बताए ।

‘महानगरमा मेरा आफन्त थिए । तर समय अभावका कारण उहाँमार्फत मार्गदर्शन नपाउँदा सपनाको सहरमा बस्नसमेत सकस भएको भयो किनकी हामीले बाहिरबाट महानगरलाई बुझ्न सक्दैनौँ । यस्तोमा दोष कसैको छैन किनकी यहाँ सबैको जीवन आफ्नै गतिमा अगाडि बढिरहेको छ’, निर्देशक राईले भने, ‘भौतिकरुपमा प्रगति हुँदै गर्दा देखिने दुई विभाजनलाई खुसी र आशिषको पात्रमार्फत व्यक्त गर्ने कोसिस गरेको छु । खुसी आफूलाई परिवर्तन गर्न सक्दिनन् भने आशिष सहरले उब्जाएको रहरमा आफूलाई भुलिसकेको छ । उनीहरूको एक रातको भेटको कथा चलचित्रमा छ ।’

फिल्ममा खुसीको भूमिका निर्वाह गरेकी अभिनेत्री मेनुका प्रधानले रातको सुन्दरतालाई बुझ्न पाएको बताइन् । उनले भनिन्, ‘हामीले रातको दृश्यलाई सोही समयमा छायाङ्कन गरेका हौँ । रातभर छायाङ्कन गर्ने र दिनभर सुत्ने भएका थियौँ । यसले मलाई रातको संसारसँग परिचित गरायो ।’

उनले पात्रका केही स्वभाव आफूसँग मिल्ने भए पनि पूर्णरुपमा अलग रहेको जानकारी दिइन् । उनले भनिन्, ‘खुसीमार्फत समाजलाई गहनरुपमा बुझ्ने मौका पाएँ ।’

फिल्ममा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पा सङ्गमले सङ्गीत सिर्जना गरेका छन् । फिल्मले विभिन्न महोत्सवमा सहभागी भएर ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनलगायतका विधामा अवार्ड जितेको थियो ।