सलोन भन्छन्– मेरो लागि घुमफिर परम्पराजस्तै हो

काठमाडौं । फिल्ममा बाल कलाकार हुँदै ‘हिरो’ सम्मको यात्रा तय गर्दा अभिनेता सलोन बस्नेतले कति जिल्ला घुमे भन्ने हिसाब गरेका छैनन् । तर उनलाई यति चाहिँ थाहा छ कि उनले सुदुरपश्चिम धेरै घुमेका छैनन् । उनी सुदुरपश्चिमको धनगढीमात्र पुगेका छन् । त्यहाँबाट न उनी पहाड चढेका छन्, न त धनगढी उताका सहर नै ।

सुटिङमा उनी जति ठाउँ पुग्छन्, फुर्सद हुनासाथ त्यो भन्दा बढी घुम्छन् । ‘म प्रायः साथीहरुसँग दशैं र तिहारको बीचको समयमा घुम्न निस्कन्छु । यो समयमा फिल्मको काम कम हुन्छ’, सलोन भन्छन्, ‘मेरो लागि घुमफिर परम्पराजस्तै हो । सुटिङबाहेकको घुमाई स्मरणीय नै हुन्छ ।’

व्यावसायिक कामबाहेकको घुमाई उनका लागि मोहक नै हुन्छ । ‘कामको तनाव पनि हुँदैन । त्यो समय भनेको केवल घुम्न मात्र हो भन्ने हुन्छ’,आगामी भदौ ८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘जय हो’का अभिनेता सलोन भन्छन्, ‘घुम्नु जत्तिको मज्जा जिन्दगीमा अरु केही हुँदैन जस्तो लाग्छ ।’

उसो त सलोन सधैंभरी मन खुलेर घुम्न पाउँदैनन् । किनकी उनी फिल्मको काममा बाँधिएका हुन्छन् । तर उनका साथीभाई भने प्रायः घुम्न निस्किरहन्छन् । ‘आफू सुटिङमा हुँदा साथीभाइहरुले फेसबुकमा फोटो राख्दा तनाव हुन्छ । किनभने फिल्मको युनिटभन्दा पनि साथीभाइसँग रमाइलो हुन्छ । मलाई डाहा नै हुन्छ’, सलोन खुल्छन्, ‘म पुगिसकेको ठाउँमा उनीहरु पुगेको भए पनि मलाई जाउँ जाउँ लाग्छ । त्यो घुम्ने कार्यक्रम अलिक पछि सारिदिएको भए पनि हुन्थ्यो नि जस्तो लाग्छ ।’

सलोनका साथीहरुले घुम्ने योजना बनाएपछि उनलाई नसम्झिने कुरै भएन । ‘कहीँकतै घुम्न जाने योजना बन्नासाथ उनीहरुले मलाई खबर त गर्छन्, तर मेरो व्यवहारले त्यो स्वतन्त्रता पाउदिनँ’, सलोन भन्छन् ।

फिल्म ‘जय हो’मा उनले घुमन्ते फोटोग्राफरको भूमिका निर्वाह गरेका छन् । घुम्ने बानी भए पनि फोटोग्राफीमा चासो नराख्ने सलोनले फिल्मको चरित्र निभाउनकै लागि पोखरा पुगेरै फोटोग्राफी सिके । त्यहाँ वेडिङ फोटोग्राफीमा सक्रिय उनका भाई पर्ने सन्दिपमार्फत ल्याण्डस्केप फोटोग्राफी सिके । ‘फिल्मकै लागि फोटोग्राफीका आधारभूत कुराहरु सिकें । समय अभावका कारण एडभान्स लेभलमा जान सकिनँ । तर एउटा फोटोग्राफरलाई थाहा हुनुपर्ने आधारभूत कुराहरु थाहा पनि पाएँ’, सलोन भन्छन् ।

सलोन सलिना फिल्मस्को व्यानरमा टेक पौरखी राईले निर्देशन गरेको फिल्म ‘जय हो’मा सलोनका अलावा केकी अधिकारी, निशा अधिकारी, अर्पण थापा, माओत्से गुरुङ, सुमिन गुरुङ र सुशान्त श्रेष्ठलगायतका कलाकारको अभिनय छ । यो फिल्म नेपालसँगै अष्ट्रेलियामा एकैदिन प्रदर्शनमा आउँदैछ ।