अभिनेता सारुकका पिता सानुको निधन

काठमाडौं । गत असार २१ गते घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका पिता सानुकुमार ताम्राकारको शनिबार निधन भएको छ । छोरा सारुकको निधनपछि शोकले विक्षिप्त बनेपछि केही समययता नर्भिक अस्पतालमा उपचाररत उनको शनिबार दिउँसो ३ बजेर २० मिनेट जाँदा निधन भएको हो ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार एकमात्र छोरा सारुकको आत्महत्या भएको १५ दिनपछि उनलाई मृगौलामा समस्या देखिएको थियो । त्यही क्रममा उनी नर्भिक भर्ना भएका थिए । उनको डायलासिसकै क्रममा मृत्यु भएको निरौलाले जानकारी दिए ।

फिल्म ‘जीवनरेखा’बाट अभिनय यात्रा सुरु गरेका सानुले त्यसयता ‘बदलिँदो आकाश’, ‘निर्मोही’, ‘जुन तारा’, ‘रगत’, ‘सुरक्षा’, ‘ज्वालामुखी’, ‘जीवनमृत्यु’, ‘अभियान’, ‘मन मनै मन पराएँ’, ‘पल’, ‘ग्याम्बलर’, ‘भुइँमान्छे’ र ‘मेरी मामू’मा चरित्र अभिनेताका रुपमा अभिनय गरेका थिए । उनी जादुगर पनि थिए ।

अध्यक्ष निरौलाले सानुको पार्थिव शरीरलाई भोलि बिहान ९ बजे पशुपति परिसरमा श्रद्धाञ्जलीका लागि राखिने र १ घन्टापछि दाहसंस्कार गरिने बताए ।