ऐँचो पैँचो र गणपति प्रदर्शनमा

काठमाडौँ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसर पारेर दुई नयाँ फिल्म ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शन भएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी फिल्म प्रदर्शन भएका हुन् ।

राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको फिल्म ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गरेकी छन् । यद्यपि फिल्म पूर्णरूपमा राजनीतिमै केन्द्रित नरहेको निर्देशक चौलागाईंले बताइन् । ‘हाम्रो दैनिक जीवन जसरी राजनीतिबाट टाढा छैन, त्यसरी नै फिल्मका पात्र जोडिएका हुन् । यद्यपि यसमा सामाजिक विषयवस्तु नै छ । प्रचार सामग्री हेर्दा त्यस्तो भने लाग्न सक्छ’, निर्देशक चौलागाईँले भनिन् ।

फिल्म अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छन् । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले फिल्मले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त फिल्ममा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन् ।

आजैदेखि प्रदर्शन भएको अर्को फिल्म ‘गणपति’ लाई सविन अधिकारीले निर्देशन गरेका छन् । उनकै लेखन रहेको फिल्ममा निःसन्तान दम्पतीलाई भगवान् गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।

फिल्ममा मुुकुन भुसाल, मेनुका प्रधान,राजाराम पौडेल, सूर्यमाला खनाल, स्व जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । अभिनेता भुसालले फिल्ममार्फत समाजको विकृतिलाई व्यङ्ग्य गरिएको बताए ।

उनले भने, ‘यो केही फरकरूपमा तयार भएको छ । यसमा अभिनय गर्दा पात्रमै रहेर केही समय बिताएको थिएँ ।’ फिल्ममा हरिबहादुर घलेले छायाँङ्कन, विपिन मल्लले सम्पादन, कविराज गहतराजले नृत्य निर्देशन छ ।