एकल साँझमा सुनिए नारायण रायमाझी

काठमाडौँ । संगीतकार तथा गायक नारायण रायमाझी जीवनकै पहिलो पटक एकल साँझमा गुन्जिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले शुक्रबार आयोजना गरेको ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ उनले आफ्नो कालजयी गीतबाट दर्शक मोहित बनाएका हुन् ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीदेखि गीतसंगीत क्षेत्रका वरिष्ठदेखि कनिष्ठ ब्यक्तिसम्मको उपस्थिती रहेको थियो ।

कार्यक्रममा रायमाझीले ‘सम्झी रेलिमै’, ‘फूलबुट्टे चोलीमा’, ‘राम्दीपुल तर्ने बित्तिकै’, ‘गेटमा बेली जाई’, ‘कालो केशमा रातो रिबन’, ‘पसिनाले पैसा साटेर’, ‘माया पैँचो नदेऊ साइँली’, ‘लाइछौ बेसन’, ‘नमुछे आमा दहीमा टीका’, ‘हाँसेर बोलीदेऊ माया’, ‘सान्नानीले झुक्कायो मलाई’ लगायतका गीत गाएका थिए ।

रायमाझी निर्देशित आगामी कात्तिक ३ गते प्रदर्शन हुने फिल्म ‘परदेशी २’को पनि प्रचारप्रसारसमेत गरिएको कार्यक्रममा शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, कुलेन्द्र विश्वकर्मा, राधिका हमाल, राजु गुरुङ, कृष्ण रेउले, टीका पुन, विक्रम परियार, कुशल बेलबासे, चेतन गोतामे, कमला पोखरेल, दीपिका बयम्भु, प्रकाश दूतराज, रचना रिमाल, सुप्रिम मल्ल, पूजा देवकोटालगायतले साथ दिए ।

पाल्पाको झडेवामा जन्मिएका रायमाझीले फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’ यस अगाडि बनाइसकेका छन् । रमेश बिजी, पुरुषोत्तम न्यौपाने, दुर्गा रायमाझी, प्रकाश सपुत लगायतका कलाकारले सहजीकरण गरेका कार्यक्रमको सभापतित्व प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले गरेकी थिइन् ।

एकल साँझको प्रायोजकमा नेपाल टेलिकम थियो । आफु निर्वाचित भएर आएदेखि प्रत्येक वर्ष एकजना दिग्गजको एकल साँझ गर्ने उद्देश्यसहित यो पटक नारायण रायमाझी साँझ आयोजना गरिएको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन् ।