राधाकृष्ण भर्सनमा नरोउ माया सम्झेर मलाई

काठमाडौं । वि.सं. २०४० सालमा रिलिज भएको लोक गीत ‘नरोउ माया सम्झेर मलाई’ कृष्ण भजन गीतको रुपमा भिडियोसहित ‘नरोउ राधा सम्झेर मलाई’ शीर्षकमा रिलिज भएको छ । श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा मंगलवार इन्टरनेटमार्फत यो गीत सार्वजनिक गरिएको हो ।

ओरिजिनल गीतका गायक हरिबहादुर राउतले नै भजन भर्सनमा स्वर दिएका छन् । पुरानो गीतमा युगल स्वर थिएन भने नयाँ गीतमा राउत र गायिका कोपिला तामाङ वाईवाले युगल स्वर दिएका छन् । यस गीतका शब्द संकलक तथा संगीतकार माधव केसी हुन् । नयाँ गीतमा प्रकाश सापकोटा र बिदुर तिमल्सिनाले शब्द रचना गरेका छन् ।

भिडियोमा अभिषेक श्रेष्ठ र संगम बिष्टले अभिनय गरेका छन् । श्रेष्ठ कृष्ण बनेका छन् भने बिष्ट राधा बनेकी छन् । संगम वि.सं. २०७१ सालमा सौगात बिष्टले सबैभन्दा कान्छो निर्देशकको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ राख्न सफल फिल्म ‘लभ यू बाबा’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड प्राप्त गरेकी थिईन् । उनले सो फिल्ममा बालकलाकारको रूपमा काम गरेकी थिईन् ।

उनले बालकलाकारको रुपमा अपहरण, जय शिव शंकर, श्रीमान, वरदान लगायतका चलचित्रहरूमा काम गरेकी छन् । संगमले ‘नरोउ राधा सम्झेर मलाई’बाट नै कमर्सियल अभिनयमा प्रवेश गरेकी हुन् ।

हरिबहादुर राउत र गोल्डेल हार्ट पिक्चर्सको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् । छायाँकार दिनेश पराजुलीको रहेको छ भने प्रविन भट्टले सम्पादन गरेका छन् ।