काठमाडौं । नेपाली फिल्म ‘गोर्खा वारियर’को लन्डनमा रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । हलिउड फिल्मको प्रिमियर गरिने लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा बेलायतको समय अनुसार आइतबार दिउँसो १२ बजेबाट बेलुका ५ः३० बजेसम्म फिल्मको प्रिमियर गरिएको हो ।
गोर्खालीहरुले मलाय युद्धमा सफलता हासिल गरेको साहसिक कथामा निर्मित फिल्म हेर्दा प्रिमियर शोमा निरन्तर ताली र सिठ्ठी बजेको थियो । प्रिमियरमा शोमा ‘गोर्खा वारियर’लाई नौ सय अतिथिले हेरेका थिए ।
फिल्मका निर्देशक मिलन चाम्सले आफूले २० वर्ष अघि देखेको सपना सपना पुरा भएकोमा खुशी व्यक्त गरे । रेड कार्पेट इभेन्टमा ब्रिटिश आर्मीका मेजरको कमाण्डमा ब्रिगेड ब्याण्डले सांगीतिक प्रस्तुति दिएका थिए । यो व्यान्डका तर्फबाट ‘गोर्खा वारियर’को गीतसहित विभिन्न गीतको धुन प्रस्तुत गर्दै प्रिमियरमा आगन्तुकहरुलाई स्वागत गरिएको थियो ।
प्रिमियरमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र अर्याल, सशस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरिक्षक तथा गीतकार शैलेन्द्र खनाल ‘शरद’, ‘मिसन इम्पोसिबलका निर्माता टोमी ग्रोम्ली, ‘पाइनहुड स्टुडियो’का प्रमुख एन्ड्रु स्मिथ, अपरेशन म्यानेजर म्याट हाटकिनलगायतको उपस्थिति थियो ।
त्यस्तै नेपालबाट नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, महासचिव अरुणकुमार प्रधान, निर्माता र निर्देशक सन्तोष सेन, अभिनेता प्रेम पुरी, ओएसआर डिजिटलका अध्यक्ष एवम् फिल्म व्यवसायी ओम अग्रवाल, सञ्चारकर्मी नरेश भट्टराई चलचित्र पत्रकार संघका तर्फबाट महासचिब रघुनाथ सापकोटा, उपाध्यक्ष सुरक्षा भट्टराईलगायतका सञ्चारकर्मीको सहभागी रहेको थियो ।
प्रिमियरमा फिल्मका अभिनेता रितेश चाम्स, अभिनेत्री रेविका गुरुङ, संगीतकार एलिश कार्कीलगायतको सहभागिता थियो । बेलायतमा रहेका फिल्म निर्देशकहरु डा. कपिल रिजाल, सनमकुमार बैराग, अभिनेता धु्रब दत्त, मनिष कुमार श्रेष्ठसहित विभिन्न नेपाली फिल्मकर्मी, संगीतकर्मी र नेपाली तथा बेलायती मोडलहरुको पनि त्यत्तिकै सहभागिता थियो ।
फिल्मलाई आगामी फागुन वा चैतमा नेपालसहित विश्वव्यापी रुपमा रिलिज गर्ने लक्ष्य रहेको पनि निर्माता निर्देशक चाम्सले जानकारी गराए ।
यो फिल्ममा रितेश चाम्सले अभिनेताको रुपमा डेब्यु गरेका छन् । उनीसँगै यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्म गोर्खा वारियार नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ ।