काठमाडौं । कलाकार खगेन्द्र लामिछानेको पुस्तक पानीफोटो लोकार्पण भएको छ । काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सोमबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो ।
कलाकार नीर शाह, अभिनेत्री स्वस्तिमा खड्का, कलाकार तथा निर्देशक निश्चल बस्नेत, अभिनेत्री ऋचा शर्मा, निर्देशक मनोज पण्डित, निश्चल बस्नेत, निर्देशक दीपेन्द्र के खनाल, अशोक शर्मा, सौरभ राई, अभिनेत्री सुरक्षा पन्त, मलिका महत, ‘पानीफोटो’का लेखक एवम् निर्देशकखगेन्द्र लामिछानेलगायतले पुस्तकको संयुक्त लोकार्पण गरे ।
कार्यक्रममा लेखक एवम् निर्देशक लामिछानेसँग लेखक एवम् सञ्चारकर्मी शिवानीसिंह थारुले पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरिन् । फिल्मका प्राविधिक पक्षको यात्रालाई सूक्ष्म किसिमले लेखिएको यो पुस्तकले नयाँ किसिमको सन्देश प्रवाह गर्ने शिवानीसिंहको भनाइ छ ।
वरिष्ठ कलाकार नीर शाहले लेखक लामिछानेले पुस्तकमार्फत देखाएको फिल्मप्रतिको प्रतिबद्धता सराहनीय रहेको बताए । नेपालमा पहिला भएका कृतिका आधारमा फिल्म बन्ने गरेको सन्दर्भमा फिल्म बनिसकेपछि पुस्तकको आवरणमा आएकामा खुसी लागेको उनले जनाए । ‘पानीफोटो’ ले सम्पूर्ण योग्यता बोक्छ, यसले फिल्म पढ्ने विद्यार्थीहरुलाई ग्य्राजुुएसन गर्न चाहिने विषयवस्तु बोकेको छ,’ उनले भने । फिल्म बनाउँछु भनेर हिँड्नेहरुले एक पटक पानीफोटो अवश्य पढ्नुपर्नेमा उनले जोड दिए ।
निर्देशक मनोज पण्डितले ‘पानीफोटो’ फिल्म बन्नु आफैंमा विशेष रहेको र यसरी डकुमेन्टेसन हुनु फिल्म क्षेत्रका लागि महत्वपूर्ण योगदान रहेको जनाए । ‘फिल्ममा ब्याकग्राउन्डमा रहेर ककसले के के काम गर्छन् भनेर पुस्तकले प्रस्ट्याएको छ,’ उनले भने, ‘यो पुस्तक फिल्म क्षेत्रका हरेक व्यक्तिले पढ्नैपर्छ । फिल्म पढाउने कलेज र यससँग सम्बन्धित रहेर काम गर्ने संस्थाले यो पुस्तक राख्न जरुरी छ ।’
नेपालीमा आफ्नो माटो सुहाउँदो फिल्म कसरी बन्छ भन्ने सन्दर्भमा पुस्तक कमै मात्रामा लेखिएको र त्यसको अभाव पूर्ति गर्न आफूले पानीफोटो पुस्तक लेखेको लेखक एवं निर्देशक खगेन्द्र लामिछानेले बताए । फिल्म निर्माणका क्रममा आफूले केही घटना एवम् यात्रालाई नोट गरेको र कोरोनाकालमा त्यसलाई लिपिबद्ध गरेको उनको भनाइ छ । अनि पछि पुस्तकका रुपमा ल्याएको उनले जनाए ।
प्रकाशन गृह फाइनप्रिन्टका लागि यो पुस्तक खास रहेको प्रकाशक नीरज भारीले बताए । ‘यो पुस्तक विशेषगरी फिल्ममा रूचि राख्नेहरुका लागि बढी उपयोगी छ । फिल्म के हो ? फिल्म निर्माणको योजनादेखि, निर्माण–प्रदर्शनसम्मको यात्राकथालाई यसले जीवन्त रुपमा प्रस्तुत गरेको छ,’ उनले भने, ‘फिल्म अध्ययन गर्नेहरुका लागि त यो ‘पाठ्यपुस्तक’ नै हो । नेपाली वाङ्मयमा यस किसिमका पुस्तक बिरलै आएका छन् ।’
‘पानीफोटो’ मा नेपालमा १२ वर्ष चलेको माओवादी जनयुद्धको सयममा छोरा बेपत्ता पारिएका बाबुआमा र उनीहरुले छोरा खोज्न गरेको प्रयत्नको कथा हो । यस कथाका लेखक खगेन्द्रले ‘पानीफोटो’ नाटकलाई सन् २०१० मा आरोहण गुरूकुलमा मञ्चन गरेका थिए । यही नाटकलाई कलाकार लामिछानेले आफ्नै निर्देशनमा फिल्मको स्वरुपमा प्रस्तुत गरेका हुन् । फिल्म ‘पानीफोटो’ गत वर्ष साउन १३ मा प्रदर्शन भएको थियो ।
यस पुस्तकमा खगेन्द्रले नाटकदेखि सिनेमासम्मको यात्राकथा उतारेका छन् । कथालाई एउटा माध्यमबाट अर्कोमा लैजाँदा केके परिवर्तन गर्नुपर्छ, त्यो देखाएका छन् । यो पुस्तक नाटक र सिनेमाका विद्यार्थी, नाट्यकर्मी, फिल्मकर्मी र सिर्जनात्मक प्रक्रियामा रूचि राख्ने सबैका लागि रुचिकर हुनेछ ।
को हुन् लामिछाने ?
लेखक एवम् अभिनेता खगेन्द्र लामिछानेले वधशाला, टलकजङ्ग भर्सेस टुल्के, पशुपति प्रसाद, धनपति, डमरुको डन्डीबियो, जय भोले, पानीफोटो, द सिक्रेट अफ राधा, गुराँसलगायत फिल्ममा अभिनय गरिसकेका छन् । फिल्म लेखन एवम् नाटक निर्देशनमा पनि सक्रिय लामिछानेले लेखेका र निर्देशन गरेका नाटक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन भइसकेका छन् । आफूले अभिनय गरेका धेरैजसो सिनेमा उनी आफैंले लेखेका छन् ।
फूलानी (कथासङ्ग्रह), कथा नाटक (नाटकसङ्ग्रह), खगेन्द्र लामिछानेका नाटक (नाटकसङ्ग्रह) र फुर्के (उपन्यास) प्रकाशन गरिसकेका उनले सन् २००७ देखि २०१३ सम्म बिबिसी मिडिया एक्सन नेपालले उत्पादन गरेको रेडियो नाटक कथा मीठो सारङ्गीको र कथामालाको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । ‘पानीफोटो’ लामिछानेले निर्देशन गरेको पहिलो नेपाली फिल्म हो ।