सुखद बुकिङबाट उत्साहित नाङ्गो गाउँ

काठमाडौं । भोलिबाट रिलिजमा आउन लागेको फिल्म ‘नाङ्गो गाउँ’को बुकिङ सुखद देखिएको छ । मंगलबारबाट बुकिङ खुलेसँगै यो फिल्मप्रति दर्शकको उत्साह देखिएको छ ।

विशेषगरि, क्यूएफएक्स चेनका केही कल, सिके सिनेमाज्, बीग मुभिज, एफक्यूब, वान सिनेमाज् लगायतका फिल्मको लागि दर्शकको उत्साह राम्रो देखिएको छ । भोली फिल्मको ‘डोर सेल’ पनि राम्रो हुने संकेत देखिएको छ । फिल्मका प्रस्तुतकर्ता हिमाल शर्माले भने–‘फिल्मले राम्रो ओपनिङ गर्ने संभावना देखाएको छ । बुकिङलाई पनि राम्रो मान्नुपर्छ । केही हलहरुमा त शोज हाउसफूल हुने बाटोमा छन् । यसैले, हामी उत्साहित छौं ।’

यो फिल्मले देशभरका हलमा शोज पनि राम्रो पाएको छ । दर्शकको चाप उच्च हुने शहरमा फिल्मलाई प्रदर्शकहरुले राम्रो शोज दिएका छन् ।
दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्मले प्रिमियरमा पनि राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मको ट्रेलरबाट पनि दर्शक उत्साहित छन् ।

यस्तै, फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । फिल्मको ‘सुन सुन सुन्दरी’ बोलको गीत पनि लोकप्रिय बनिरहेको छ । यसैले, पनि फिल्मप्रति दर्शकको आकर्षण देखिएको हो । तीज र संविधान दिवसको बिदाको फाइदा उठाउन सकेको खण्डमा फिल्मले निर्मातालाई नेपालबाटै मुनाफा दिलाउन सक्नेछ ।