लिरिकल गीतमा दिमाग खराबको बिरामी मुलुक

काठमाडौं । तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर फिल्ममा समावेश लिरिकल गीत ‘बिरामी मुलुक’ सार्वजनिक गरिएको हो ।

फिल्मको सार्वजनिक लिरिकल गीतमा जयन जे वाइवाको शब्द, संगीत तथा स्वर रहेको छ । फिल्मको सार्वजनिक लिरिकल भिडियोका चलअचल दृश्यमा प्रायः सबै कलाकारलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ ।

सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको फिल्ममा आकाश बरालको लेखन छ । निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय छ ।

फिल्मबाट निश्चल ६ वर्षपछि निर्देशन फर्किएका हुन् । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

फिल्म लुट २’पछि निश्चल बस्नेत निर्देशनबाट टाढा रहेका थिए । त्यो बीचमा उनले केही फिल्म तथा म्युजिक भिडियोमा अभिनय गर्नुका साथै केही गीतमा स्वर समेत भरेका थिए । कोभिडभन्दा अघि उनले ‘जिन्दावाद’ नाममा फिल्म निर्माणको तयारी समेत गरेपनि ठुलो बजेटका कारण त्यो फिल्मलाई पोस्टपोण्ड गर्दै यो फिल्मको निर्माण तथा निर्देशन गरेका हुन् ।