दुई कदम टिजरमा प्रेम र द्वन्द्व

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भएको फिल्म ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ । गत आइतबार दशैंको घटस्थापनामा सार्वजनिक गरिएको फिल्मको १ मिनेट ४० सेकेण्ड लामो टिजरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीबीचको प्रेम, रोमान्स र द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।

आगामी मंसिर २९ गतेबाट रिलिज हुने फिल्मको सार्वजनिक टिजरमा अभिनेता सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारीलाई पनि स्थान दिइएको छ । सार्वजनिक टिजर हेर्दा अभिनेता गौरव पहारी भिलेनको भुमिकामा रहेको अनुमान लगाउन सकिन्छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बुको लगानी रहेको छ । फिल्ममा बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय रहेको छ । फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् । मुस्ताङमा एक गीतको छायांकन गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।