काठमाडौं । गत शनिबारबाट प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्सअफिसमा बम्पर व्यापार गरिरहेको छ । शनिबार र आइतबार हलमा फिल्म हेर्ने दर्शकको ठुलो भिड देखिएको थियो । आज सोमबार पनि फिल्म हेर्ने दर्शकको संख्या घटेको छैन् ।
भोलि मंगलबार बडादशैंको टीका अर्थात विजया दशमीको दिन भएकाले नेपालभरका सिनेममा घरले बिहानी शोमा फिल्म हल बन्द रहने गरेता पनि दिउँसोबाट पुनः सञ्चालनमा आउने छन् । टीकाको दिन पनि फिल्मले उच्च शो पाएको छ ।
काठमाडौंस्थित कमलपोखरीमा रहेको बिग मुभिजले दिउँसो १२ बजेबाट हल सञ्चालनमा ल्याउने गरि शो निकालेको छ । देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले दरबार सिनेम्याक्समा २ बजे र इटहरीको सिनेफिल्क्सले १२ः३० बाट पहिलो शो खोलेको छ । अरु धेरै हलले २ बजेपछि मात्रै हल सञ्चालनमा ल्याउने गरी शो खोलेका छन् ।
काठमाडौं र मोफसलमा गरी दशैंको टीकाको दिन पनि फिल्म हलले ‘पशुपति प्रसाद २ः भष्मे डन’को लागि करिब १८० आसपासमा शो खोलेका छन् भने अझै शो बढ्न सक्ने छ । फिल्मप्रति दर्शकको क्रेज देखेर नै हल सञ्चालकले टीकाको दिन पनि यति धेरै शो दिएको हुनसक्ने निर्देशक दीपेन्द्र के खनालले बताए ।
फिल्म हेरर हलबाट निस्किँदै गर्दा अधिकांश दर्शकले निर्माण टिमसँग ‘पशुपति प्रसाद ३’ को डिमाण्ड गरिरहेका थिए । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।
फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिएका छन् । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, विपिन मल्लको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको सिनेमाका प्रोडक्सन डिजाइनर शंकर पाण्डे हुन् ।
फिल्मले पहिलो दिन शनिबार बक्सअफिसमा २ करोड ४० लाख ग्रस कलेक्सन गरेको थियो ।