निश्चलको दिमाग खराब कमव्याक

काठमाडौँ । फिल्म निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय भएका छन् । ‘लूट’ फिल्म निर्देशनपछि चर्चित बनेका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहे । उनी हालै ‘दिमाग खराब’ फिल्ममार्फत पुनः निर्देशनमै फर्किएका छन् ।

दिमाग खराब फिल्म सामाजिक र राजनीति विषयवस्तुमा आधारित रहेको निर्देशक बस्नेतको भनाइ छ । उनले भने, ‘मैले कुनै राजनीतिक मुद्दालाई कथा बनाएको होइन तर राजनीति भने मिसिएको छ ।’ उनले फिल्ममा देखिएका पात्र राजनीति वा त्यसको परिस्थितिका कारण सिर्जित हुने गरेको भन्दै फिल्म विशुद्ध मनोरञ्जनका लागि निर्माण गरिएको बताए ।

‘एउटा साधारण मान्छेको आफ्नै भोगाइहरु हुन्छ । देशप्रति आशा हुन्छ । यी सबै चिजहरुले कसरी एउटा साधारण मान्छेको दिमाग कसरी खराब हुनपुग्छ भन्ने विषयलाई फिल्मको कथा बनाइएको छ’, उनले भने । बस्नेतले ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट २’ निर्देशन गरिसकेका छन् ।

फिल्म दिमाग खराबमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, सुमन कार्की, बिजय बराललगायतका कलाकारले अभिनय गरेका छन् । साथै सुसन प्रजापतिले छायाङ्कन, आकाश बरालले पटकथा लेखन, जयन जे वाइवा र कालिप्रसाद बाँस्कोटाले सङ्गीत सिर्जना र निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।