काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म् ‘बाः एक योद्धा’ले प्रदर्शनको पाँचौँ दिनमा सय बढी शो पाएको छ । सुरुवाती तीन दिन लगातारको वर्षाका कारण अपेक्षाकृत कम दर्शक पाएको फिल्मले मंगलबारदेखि भने हलमा दर्शकको चाप बढाएको हो ।
मंगलबारदेखि सुरु भएको ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुटमा मंगलबार देशभर ७९ शोमा प्रदर्शन भएको फिल्मले बुधबार सय शो पाएको छ । काठमाडौं उपत्यकाका प्रमुख मल्टिप्लेक्सदेखि मोफसलका हलसम्म चलचित्रप्रति दर्शकको चासो बढेको देखिएको छ ।
फिल्मको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई फिल्मले कथाको केन्द्रमा राखेको छ ।
फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ । फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।







