मङ्सिर ८ मा तीर्थ कुमारी स्वर्णिम साँझ

काठमाडौं । लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । यही मङ्सिर ८ गते राष्ट्रिय नाचघर जमलमा ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८०’ हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अन्नपुर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको कार्यक्रमको काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन सह–आयोजक रहेका छन ।

५ दशक भन्दा बढी समयदेखि नेपाली लोकगीतमा निरन्तर लागिरहेकी लोकगायिका थापा पहिलोपटक एकल सांगीतिक साँझ मार्फत गुञ्जिन लागेकी हुन् । कार्यक्रमा गायिका थापाले ‘म त खादिन कुवाँको पानी हो’, ‘ढुङ्गे बगर माया’, ‘झम्के फूली नाकैमा बुलाकी’, ‘उकालीमा पनि हजुर मोटर जादो रैछ’, ‘बारीको डिलमा ओखरबोट’, ‘माछी मार न हे दाई हो’ लगायतका २ दर्जन जति गीत प्रस्तुत गर्नेछिन् । कार्यक्रममा प्रवेशका लागि एक हजार, पन्ध्र सय र दुई हजार रुपैयाँको टिकेट राखिएको छ ।

गायिका थापाको छोरा तथा सङ्गीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिए । २०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन र संगीत यात्राको थालनी गरेकी गायिका थापाको हालसम्म एक हजार भन्दा बढी गीतहरु रेकर्ड भैसकेका छ्न।